राजकुमार भट्टराई
खोटाङ, भदौ १४ गते । खोटाङको रावाबेसी गाउँपालिकाका राडीपाखी व्यवसायीलाई संरक्षण र प्रवर्द्धन गर्न सुरु गरिएको छ । गुरुङ समुदायको पुर्खौली पेसासमेत रहेको राडीपाखी व्यवसायीहरू रावाबेसी गाउँपालिका क्षेत्रमा प्रशस्त छन् । उनीहरूलाई पालिकाले आवश्यक सामग्री चर्खा र कोरेसो गाउँपालिकाले प्रदान गरेको छ ।
गाउँपालिकाको वडा नम्बर १ कुभिण्डे, ५ दुवेकोल र ६ हौँचुरका गुरुङ समुदायले यो पेसा गर्दै आएका छन् । गुरुङहरूको पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दैआएका महिलाको व्यावसायिक विकासमा सघाउ पुर्याउन आवश्यक सामग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
बुधबार वडा नम्बर ६ हौंचुरको पोखरी र चाँपखर्क तथा १ कुभिन्डेको गोपिनीका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो प्रदान गरिएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिनुभयो । बिहीबार वडा नम्बर ५ दुवेकोलमा सोही सामाग्री वितरण गरिएको छ ।
गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रकमले १ सय ७० थान कोरेसो र ५० थान चर्खा खरिद गरिएको गाउँपालिका उपाध्यक्ष कोशिका गुरुङले बताउनुभयो । भेडाको उनबाट राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई लक्षित गर्दै चर्खा र कोरेसो वितरण गरिएको उहाँको भनाइ छ।
राडीपाखीको काम गर्ने अन्य राई, भुजेल, मगर समुदायका महिलालाई पनि चर्खा र कोरेसो उपलब्ध गराइने उपाध्यक्ष गुरुङले बताउनुभयो ।