• १५ मंसिर २०८१, शनिबार

प्रहरीका ४९ नयाँ भवन निर्माण सम्पन्न

blog

अनिल पराजुली

हेटौँडा, साउन २० गते । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालसम्म प्रहरीका लागि ४९ वटा भवन निर्माण सम्पन्न गरिसकेको छ भने १८ भवन निर्माणाधीन छन् । प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । मन्त्रालयले प्रदेश सरकार गठनपश्चात् पहिलो चरणमा एक अर्ब १० करोड ९९ लाख १२ हजार ९७७ हजार रुपियाँ लगानीमा प्रहरी भवन निर्माण गरेको छ भने दोस्रो चरणमा ७३ करोड ५८ लाख पाँच हजार ९९२ रुपियाँ खर्च हुने जनाएको छ ।  

प्रदेश सरकारले मकवानपुरमा आठ, चितवनमा पाँच, सिन्धुलीमा सात, रामेछापमा चार, दोलखामा चार, नुवाकोटमा तीन, काभ्रेमा आठ, धादिङमा तीन, रसुवामा चार, सिन्धुपाल्चोकमा तीन वटा भवन निर्माण सम्पन्न गरिसकेको जनाएको छ । मकवानपुरमा सशस्त्र प्रहरी गण नं. ३ रातोमाटे, प्रहरी चौकी कान्द्राङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी रातोमाटे, इलाका प्रहरी कार्यालय ठिङ्गन, प्रहरी चौकी डाँडाखर्क, प्रहरी चौकी हात्तीसँुडे, प्रहरी चौकी ठुलोदमार निर्माण सम्पन्न भइसकेको छ भने चितवनमा प्रहरी चौकी चैनपुर, प्रहरी चौकी सीताराम चोक, प्रहरी चौकी सुमेस्ररमाडी, प्रहरी चौकी कल्याणपुर माडी र प्रहरी चौकी पञ्चकन्याको भवन निर्माण सम्पन्न भइसकेको छ ।

हालसम्म ६७ वटा प्रहरी एकाइ निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशबाट सहयोग भइसकेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश सरकारले सङ्घ अन्तर्गत रहेको प्रहरी भवन निर्माणमा अर्बौं रुपियाँ खर्च गरिसके पनि प्रहरी समायोजन भने हुन सकेको छैन । बागमती प्रदेशले प्रदेश प्रहरी ऐन, २०७७ जारी गरिसकेको छ । संविधानको धारा २६८ को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रदेश प्रहरी सङ्गठन हुने छ भनिएको छ । उपधारा ३ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने छ भनिएको छ । अर्थात् प्रदेश प्रहरी र सङ्घीय कानुन दुवै संवैधानिक व्यवस्था हो ।

चालु आवमा पाँच भवन बन्ने

मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा चार जिल्लाका पाँच स्थानमा छ करोड ४४ लाख ६५ हजार लागतमा पाँच वटा प्रहरी भवन निर्माण गर्ने लक्ष्य राखेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी सुरेन्द्र कार्कीका अनुसार मकवानपुर, चितवन, सिन्धुली, रामेछाप र मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा प्रहरी भवन निर्माण हुने बताउनुभयो । चालु आवमा ९७ लाख ३३ हजार रुपियाँ लागतमा चितवनको रत्ननगर टाँडी, ८४ लाख २२ हजार रुपियाँमा मकवानपुर जिल्ला प्रहरी कार्यालयमा महिला ब्यारेक भवन, एक करोड ९८ लाख लागतमा मकवानपुरगढीमा इलाका प्रहरी कार्यालय, एक करोड ३३ लाख लागतमा सिन्धुली–४, खाङसाङ फिक्कलमा प्रहरी चौकी भवन र एक करोड ३२ लाख रुपियाँको लागतमा रामेछापमा जिल्ला ट्राफिक कार्यालय भवन निर्माण हुने जानकारी उहाँले दिनुभयो । 

मर्मतमा झन्डै दुई करोड खर्च

आव २०७९/८० मा १९ वटा प्रहरी एकाइ भवन मर्मतका लागि एक करोड ७० लाख ४० हजार रुपियाँ खर्च भएको छ । मकवानपुरमा छ, सिन्धुली र काभ्रेमा तीन-तीन, धादिङमा दुई र चितवन, दोलखा, सिन्धुपाल्चोक र रसुवामा एक-एक प्रहरी एकाइ भवन मर्मत गर्न सो खर्च लागेको मन्त्रालयले जनाएको छ । कार्यालय र ब्यारेक भवनको छाना मर्मत, रङरोगन, शौचालय, ढोका, कम्पाउन्ड, भान्छाघर मर्मतमा सो बजेट खर्च भएको मन्त्रालयका सूचना अधिकारीले जानकारी दिनुभयो ।