काठमाडौं,साउन १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय किलो सुनको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यो विषयमा छलफल भएको थियो ।
छलफलमा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना, महान्यायाधिवक्ता डा।दिनमणी पोखरेल, प्रहरी महानिरिक्षक बसन्त कुँवर, सिआइबीका एआइजी किरण बज्राचार्यको सहभागी थियो ।
उक्त छलफलमा अनुसन्धानको बाँकी काम केन्द्रीय अनुसन्धान ब्यूरोले गर्नुपर्ने कुराहरु उठेको बैठकमा सहभागी सिआइबीका एआइजी बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार बैठकमा अनुसन्धानको जिम्मा ब्यूरोलाई दिने कुरा चलेपनि अहिलेसम्म पत्र आइसकेको छैन ।
उहाँले भन्नुभयो, “हिजो यस विषयमा प्रधानमन्त्री ज्यूसँग छलफल भएको हो । छलफलमा अनुसन्धानको बाँकी जिम्मा हामीलाई नै दिने जसरी छलफल भएको थियो । तर आधिकारिक पत्र अहिलेसम्म आएको छैन । आउने प्रक्रियामै होला ।”
यस प्रकरणमा सङ्गठित अपराध देखिएकाले यो मुद्दाको अनुसन्धान प्रहरीले नै गर्नुपर्ने आवाज उठेको उहाँको भनाइ छ । साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट अवैध सुन बरामद गरेर अनुसन्धान गरिरहेको छ ।
‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौ ल्याएको थियो । सो प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।