काठमाडौं, साउन १९ गते। श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ। शुक्रबार नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसहित श्रमजीवी पत्रकारले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएका हुन्।
महासङ्घको तर्फबाट बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले विभागमा आएका उजुरीलाई कार्यविधिले तोकेअनुसार फर्छ्याेट गर्दै आएको बताउनुभयो। उहाँले प्रेस रजिष्टारको भूमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गर्नुभयो। उहाँले श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफलअघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘हामीकहाँ आएको जति पनि उजुरी छन्, यसलाई कार्यविधि तोकेअनुसार समयमा नै फर्छ्याेट गर्ने गरेका छौँ। हामीलाई दिएको अधिकार वार्ता, मध्यस्थता र मेलमिलाप दिएको छ। प्रेस रजिष्टारको भूमिका तोकिए जति निर्वाह गरेका छौँ। श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफल व्यापक बनाउनुपर्छ।’
धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो कि भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले श्रमजीवी पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका विभागबाट हुन नसकेको बताउनुभयो।
प्रदर्शनकारीले प्रेस रजिष्टारले समेत श्रमजीवी पत्रकारको हकहितमा काम नगरेको बताए। उनीहरुले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्ब प्रेस रजिष्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाएर प्रदर्शन गरेका हुन्।