बाबुराम देवकोटा
सिन्धुलीमाढी, साउन १९ गते । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका क्रममा डुबानमा पर्ने बीपी राजमार्गको ९६५ मिटर सडकलाई स्थानान्तरण गरिने भएको छ ।
उक्त आयोजना निर्माणका क्रममा सिन्धुली र रामेछाप जिल्लाको सिमानामा रहेको सुनकोसी नदीमा करिब ३० मिटर आग्लो र १५८ मिटर लम्बाइको बाँध निर्माण गर्दा डुबानमा पर्ने बीपी राजमार्गको करिब एक किलोमिटर अर्थात् ९६५ मिटर उक्त सडकलाई स्थायी रुपमा स्थानान्तरण गर्न लागिएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार खुर्कोटदेखि दुई किलोमिटर टाढा कानढुङ्ग्रीस्थित सुनकोसी नदीमा उक्त बाँध निर्माण गर्दा बीपी राजमार्गको ९६५ मिटर सडक डुबानमा पर्दछ । डुबान हुने सडकसहित इन्टेक एप्रोच कल्भर्ट लगायतका संरचना निर्माण गर्नुपर्ने भएकाले निर्माण अवधिभर दुई दशमलव ९६ किलोमिटर सडक डाइभर्सन हुनेछ । बाँध निर्माण अवधिमा डुबानमा पर्ने ९६५ मिटर सडकलाई हाल सञ्चालनमा रहेको सडककै माथिको भागबाट निर्माण गरी स्थायी रुपमा समाधान गर्न लागिएको हो ।
आयोजना प्रमुख मित्र बरालका अनुसार पहिलो चरणको कामअन्तर्गत सुरुङ निर्माण छ । कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये शुक्रबारसम्म सात हजार ८४२ मिटर निर्माण सम्पन्न भएको छ । दोस्रो चरणको कामअन्तर्गत बाँध निर्माणको काम अगाडि बढाइएको हो । सुरुङ निर्माणको काम २०७९ साल असोज २८ गतेदेखि सुरु भएको थियो । सुरुङ निर्माणको अवधि २२ महिनाको छ ।
उहाँले भन्नुभयो, ‘‘बाध निर्माणका लागि ठेक्का सम्झौता भई प्रारम्भिक तयारीसहितको निर्माण कार्य अगाडि बढेको छ । सो क्षत्रमा सिन्धुली जिल्ला तर्फमा पर्ने जग्गा अधिग्रहण भई मुआब्जा वितरण भइसकेको छ । रामेछाप तर्फ डुबानमा पर्ने जग्गाको मूल्याङ्कन सम्पन्न भई मुआब्जा वितरण भइरहेको छ ।’’
सुनकोसी नदीमा बाँध निर्माणका लागि २०७९ पुस १७ गते पटेल इण्डिया र रमन नेपाल जेभिसँग १२ अर्ब एक करोड ४० लाख रुपियाँमा ठेक्का सम्झौता गरी क्याम्प निर्माण लगायतको काम सुरु गरि सकेको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो । चार वर्ष सात महिनाको अवधिमा सुनकोसी नदीमाब्यारेज निर्माण गरिसक्नुपर्ने आयोजना प्रमुख बरालले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार सुनकोसीमा बाँध लगायतका संरचना निर्माणका लागि प्राविधिक स्टिमेट लागत १७ अर्ब ७५ करोड रहेकोमा पटेल इण्डिया र रमन नेपाल जेभी निर्माण कम्पनीले ३२ दशमलव ३२ बिलोमा (कम लागत) मा ठेक्क सम्झौता गरेका हुन् ।
आयोजनाका अनुसार खुर्कोटमा सुनकोशी नदीमा ३० मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी उक्त सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ । त्यहाँ ६६ दशमलव २९ मिटर हेटडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
उत्पादित विद्युत् ३७ दशमलव दुई डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडअन्तर्गत नवलपुर सबस्टेशनमा जोडिनेछ । आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडोक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना छन् । आर्थिक वर्ष ०७७÷०७८ बाट सुरु भएको आयोजना ०८४/०८५ सम्ममा सक्ने लक्ष्य छ ।
आयोजनाका अनुसार सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माणमा हालसम्म आठ अर्ब ८६ करोड रुपिया खर्च भएको छ । चालु आर्थिक वर्ष ०८०/०८१ का लागि सरकारले चार अर्ब बजेट विनियोजन गरेको छ । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड खर्च हुने जनाइएको छ ।
बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाले जनाएको छ ।