धादिङ समाचारदाता
धादिङ, असार २६ गते । धादिङको सल्यानटारको मूल सडक वरपर वृक्षरोपण गरिएको छ। ‘जनताको रहर–हरित सहर’ भन्ने अभियान अन्तर्गत वन तथा भूसंरक्षण विभाग काठमाडौँको आर्थिक सहयोग, डिभिजन वन कार्यालय धादिङको प्राविधिक सहयोग र त्रिपुरासुन्दरी गाउँपालिका धादिङको समन्वयमा सल्यानटारमा वृक्षरोपण गरिएको हो।
त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ भित्र पर्ने सल्यानटारको बुट्टारदेखि खोल्सी, बगैँचा हुँदै सिकटारसम्मको मुख्य सडकको दायाँबायाँ क्षेत्रमा वृक्षरोपण गरिएको हो।
सल्यानटारलाई सुन्दर सहरका रूपमा विकास गर्न गर्नुपर्ने धेरै काममध्ये वृक्षरोपणबाट काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो। गाउँपालिकाले उपभोक्ता समिति बनाएर बिरुवाको रेखदेख र मलजलको जिम्मा लगाएको छ।
खोल्सीदेखि बुट्टार र सिख्टारदेखि खोल्सीसम्म करिब नौ किलोमिटर मूल सडकको दायाँबायाँ बिरुवा रोपिएको छ। वन तथा भूसंरक्षण विभागको अनुमानित ६५ लाख रुपियाँको लागतमा वृक्षरोपण गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो। माटो परीक्षण गरी प्राविधिकको सल्लाह अनुसार बिरुवा रोपिएको गाउँपालिका उपाध्यक्ष देवराज धरेलले बताउनुभयो।
गाउँपालिकाभित्रका एक जना मतदाता बराबर एउटा बिरुवा रोप्ने उद्देश्यसहित अघिल्लो वर्षदेखि नै गाउँपालिकाले वृक्षरोपण कार्यक्रम गर्दै आएको छ। अघिल्लो वर्ष वडा नंं. १ को हात्तीसुँडेमा दुई सय र वडा नं. २ को आरुघाट बजारभन्दा माथि उजाड बनेको स्थानमा चाँप, चिउरी, सल्लालगायतका चार सय बिरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो।
“कतै बाढीपहिरो त कतै सडक खन्ने क्रममा छेउछाउका बिरुवा मासिएका छन्, त्यसैको परिपूर्तिका लागि पनि सबै ठाउँमा वृक्षरोपण गर्नैपर्ने आवश्यकता छ। आफ्नो ठाउँ आफ्नो सहर सुन्दर राख्न सबै स्थानीय सरकारले सल्यानटारमा जस्तै वृक्षरोपण अभियानलाई प्राथमिकता दिन आवश्यक छ,” अध्यक्ष उप्रेतीले भन्नुभयो।