• १५ मंसिर २०८१, शनिबार

कित्ताकाट रोकिँदा स्थानीय तहको आम्दानी प्रभावित

स्थानीय तहलाई भुक्तानीमा समस्या

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, असार २५ गते । केही महिना जग्गाको कित्ताकाट रोकिएका कारण घरजग्गा रजिस्ट्रेसनबापतको राजस्व सङ्कलन कम भएपछि स्थानीय तहलाई योजनाको भुक्तानीमा समस्या भएको छ। गत वर्ष काभ्रेपलाञ्चोक जिल्लामा घरजग्गा रजिस्ट्रेसनबापत एक अर्ब २७ करोड २२ लाख १८ हजार २९४ रुपियाँ राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको असार २० गतेसम्म ५४ करोड ९५ लाख ७९ हजार १९८ रुपियाँ राजस्व सङ्कलन भएको मालपोत कार्यालयले जनाएको छ। 

अन्तरसरकारी वित्त व्यवस्था ऐन, २०७४ को दफा ५ (ख) अनुसार घरजग्गा रजिस्ट्रेसन शुल्कको दर प्रदेशले लगाउने र गाउँपालिका वा नगरपालिकाले उठाउने गर्छ। मालपोत कार्यालयबाट सङ्कलन भएको यो शुल्क दुई प्रतिशत मालपोत र नापी कार्यालय व्यवस्थापनका लागि राखेर बाँकी रकमलाई शतप्रतिशत मानेर प्रदेशलाई ४० प्रतिशत र ६० प्रतिशत स्थानीय तहलाई जान्छ। 

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका लेखा अधिकृत हेमप्रसाद मिश्रले नगरपालिकाले चालु आवका लागि घरजग्गा रजिस्ट्रेसनबापत आठ करोड रुपियाँ आय अनुमान गरेकामा त्यसको आधा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिनुभयो। “अनुमानित आयको आधा मात्रै राजस्व सङ्कलन भएका कारण उक्त शीर्षक अन्तर्गत सञ्चालन गरिएका योजनाको भुक्तानीमा समस्या भएको छ,” लेखा अधिकृत मिश्रले भन्नुभयो। 

चालु आव पाँचखाल नगरपालिकाले घरजग्गा रजिस्ट्रेसनबापत आठ करोड रुपियाँ आम्दानी गर्ने अनुमान गरेकोमा असार २० गतेसम्म नगरपालिकाको नाममा चार करोड २० लाख ३८ हजार ६७ रुपियाँ मात्र सङ्कलन भएको मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। मालपोतबाट प्राप्त हुने आयबाट सञ्चालन गरिने भनी उल्लेख गरी कार्यान्वयनमा गएका योजनाको भुक्तानीमा समस्या भएको लेखा अधिकृत मिश्रले बताउनुभयो। 

यसै गरी बनेपा नगरपालिकाले चालु आव घरजग्गाबाट २२ करोड रुपियाँ राजस्व सङ्कलन हुने अनुमान गरेकोमा असार २० गतेसम्म १२ करोड १९ लाख ३१ हजार ६५ रुपियाँ राजस्व सङ्कलन भएको छ। बनेपा नगरपालिकाका आन्तरिक लेखा परीक्षक विनोद हुमागाईंले मालपोत कार्यालयबाट प्राप्त गर्ने राजस्वको अनुमानभन्दा कम आम्दानी भएका कारण योजनाको भुक्तानीमा प्रत्यक्ष असर गरेको बताउनुभयो। उहाँले नगरपालिकाले अनुमान गरेभन्दा १० करोड रुपियाँ कम राजस्व सङ्कलन भएको बताउनुभयो।

“नगरपालिकाले अगाडि सारेका सबै योजना कार्यान्वयनमा गएर भुक्तानीको माग भएको भए धेरै समस्या हुने थियो, कतिपय योजना कार्यान्वयनमा नगएका कारण कार्यान्वयनमा नगएका योजनाबाट कार्यान्वयनमा गएका योजनाको भुक्तानी दिनुपर्ने अवस्था छ,” उहाँले थप्नुभयो। पनौती नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सैँजूले चालु आवका लागि नगरपालिकाले घरजग्गा रजिस्ट्रेसनबापत १० करोड रुपियाँ आम्दानी अनुमान गरेको बताउनुभयो। उहाँले नगरपालिकाले चालु आवका लागि घरजग्गा रजिस्ट्रेसनबापत प्राप्त गर्ने अनुमानित राजस्वमध्ये हालसम्म आधाभन्दा कम राजस्व प्राप्त भएको बताउनुभयो। 

पनौती नगरपालिकाले चालु आवको असार २० गतेसम्म चार करोड १९ लाख २२८ रुपियाँ मात्रै मालपोतबाट राजस्व आम्दानी गरेको छ। लेखा अधिकृत सैँजूले मालपोतबाट हुने आम्दानी कम भएका कारण कार्यपालिकाबाट पारित भएका कतिपय योजना कटौती गर्नु परेको बताउनुभयो।