बाबुराम देवकोटा
काउछे (सिन्धुली), असार २२ गते । कमलामाई नगरपालिका–९ काउछे निवासी कृष्टिना ढुङ्गेल अहिले गाँउकै ज्ञानज्योती आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ। उहाँ विद्यालयमा पढाईका अतिरिक्त दुनाटपरी गाँस्न अब्बल बन्दै जानु भएको छ ।
विद्यार्थीलाई जीवन उपयोगी शिक्षा सिकाउने उद्देश्यले विद्यालयमा प्रत्येक शुक्रबार सञ्चालन हुने अतिरिक्त क्रियाकलापले नै आफूलाई उक्त सिप सिकाएको उहाँले सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यालयले शुक्रबारका दिन ‘नो ड्रेस, नो बुक र नो व्याग’ भन्ने नियम लागु गरेको छ । विद्यालय नजिकै जङ्गल भएकाले शिक्षकसँगै हामी सबै विद्यार्थी जङ्गल गएर सालको पात टिपेर ल्याई विद्यालयमा दुना, टपरी गाँसेर बस्छौं ।”
विद्यालयमा आफू जस्तै धेरै विद्यार्थीहरु अहिले दुना टपरी बनाउन सिपालु बनेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार विद्यालयमा शुक्रबार बाहेक अरु दिन पठ्यपुस्तक पढाई हुन्छ। शुक्रबार भने विद्यार्थीहरु बिना विद्यालय पोशाक, बिना किताब र ब्याग विद्यालय आउँछन् । जङ्गलबाट सालको पात टिपेर ल्याएपछि शिक्षिकाहरुले नै दुना, टपरी बनाउन सिकाउने गरेका छन् ।
विद्यालयमा अध्ययनरत करिब एक सय जना विद्यार्थीमध्ये ७० जनाले दुना, टपरी बनाउने सिप सिकिसकेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक यादबप्रसाद सुवेदी हरेक शुक्रबार पढाईलाई अवरोध नपुग्ने गरी घर व्यवहारमा काम लाग्ने दुना, टपरी बनाउन, बत्ति कात्ने, सिन्का बनाउने, खेतबारीमा धान गोड्ने, आलुको ड्याङ कसरी बनाउने जस्ता व्यवहारिक सिप विद्यार्थीलाई सिकाउँदै आएको बताउनुहुन्छ ।
“बिए-डिग्री पास गरेको व्यक्ति खेतमा जानु हुँदैन भन्छ । बाउ खुट्टा फुटाएर भैँसी पालेको हुन्छ, छोरो भैँसी पनि दुधैन, गोबर पनि सोर्दैन । यो शिक्षा सर्टिफिकेट मात्रै पाउने, नबिक्ने बनायौं । घरेलु काममा पनि पहिलेदेखि नै मेलो लगाएर बानी बसाउने उद्देश्य हो”, प्रधानाध्यापक सुवेदीले भन्नुभयो ।
“सुरु–सुरुमा अभिवावकहरु पनि पढाउन छोडेर अरु काममा लगायो भन्थे, कहिले खेत गोड्न लगायो भन्थे, कहिले घाँस काट्न लगायो भन्थे । अहिले चाहि सिक्ने नै कुरा रहेछ भन्न थालेका छन्,” उहाँले थप्नुभयो ।
विद्यालयले जीवन उपयोगि व्यवहारिक सिप विगत छ महिनादेखि विद्यार्थीलाई सिकाउन थालिएको हो । अहिले विद्यालयमा महिला पुरुष सबै दुना, टपरी बनाउन सिपालु भईसकेका छन् । विद्यालयमा उत्पादन भएको दुना, टपरी विद्यालयमै भण्डारण गरी राख्ने र गाँउमा विवाह, ब्रतबन्ध, मरोमारो परो भने लगेर दिने गरेको र कसैकसैले मात्रै स्वईच्छाले आर्थिक सहयोग गर्ने गरेको उहाँको भनाइ छ ।
कमलामाई नगरपालिकामा रहेको ८४ वटा सामुदायिक विद्यालयमध्ये पाठ्यपुस्तक बाहिरको विद्यार्थीलाई जीवन उपयोगि सिप सिकाउने ज्ञानज्योती आधारभूत विद्यालय काउछे पहिलो रहको बताइएको छ ।