दोलखा समाचारदाता
दोलखा, असार २२ गते । दोलखाको बिगु गाउँपालिकास्थित बाह्र सय पल्टन डाँडा (तामाङ भाषामा थोबा भनिने) महत्वपूर्ण स्थल ओझेलमा परेको छ । पल्टन डाँडाको प्रचारप्रसारमा सरकारको ध्यान जान नसक्दा ओझेलमा परेको स्थानीय बताउँछन् । वडा नम्बर ३ र ४ को नजिक परे पनि गाउँपालिकाका आठै वटा वडाको शिरमा यो स्थान पर्छ ।
वडा नम्बर ३ का वडाध्यक्ष ढालबहादुर तामाङले भन्नुभयो, “यति महत्वपूर्ण स्थानमा कसैको ध्यान नजानु भनेको दुःखद हो । पालिकाको बजेटले केही गर्न सकिँदैन । सरकार यसको विकास विस्तारमा लाग्नु पर्छ, हाम्रो जोडदार माग छ ।”
यसको विकास विस्तार हुन सके पर्यटकीय गन्तव्य बन्न सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पर्यटकीय गन्तव्य बनाउन सकिए पालिका मात्र होइन, मुलुकलाई नै फाइदा पुग्छ । सरकारको ध्यान जान जरुरी छ ।” इतिहासका जानकार गोकर्णप्रसाद पोखरेलले भन्नुभयो, “लिखित इतिहासमा त यसको कतै उल्लेखसम्म पनि भएको देखिँदैन ।
सबैतिरबाट देखिने उच्च स्थानमा १२ वटा ढुङ्गा ठड्याएर नेपाली सेनाको पोसाक लगाइदिएपछि तिब्बती सेनाको ध्यान त्यतै गयो । यही मौका छोपेर नेपाली सेनाले बुद्धिमतापूर्ण तवरले फेरो हालेर तिब्बती सेनालाई आक्रमण गरी उनीहरूलाई परास्त गरेको किंवदन्ती छ । सप्रमाण यसको खोजबिन हुनु जरुरी छ ।”
प्रधानमन्त्री जङ्गबहादुर राणाकै पालामा १८५५/१८५६ सालमा तिब्बतसँग युद्ध हुँदाका बेला यो घटना भएको हुनु पर्छ । त्यस समयमा काठमाडौँ उपत्यका र सहज स्थानको मात्र इतिहास लेखिए तर यो विकट स्थानको यत्रो महत्वको काम कहीँ कतै उल्लेखसम्म पनि नहुनु दुःखलाग्दो भएको उहाँले बताउनुभयो । त्यो बेलाका ढुङ्गा यत्रतत्र छरिएका छन् । यहाँ पुग्न चार/पाँच दिनको कठोर पैदल यात्रा गर्नु पर्छ ।
तत्कालीन जिल्ला विकास समितिले प्रकाशन गरेको दोलखा जिल्लाको पर्यटन विकास तथा व्यवस्थापन योजना २०६९/७०–२०७३/७४ को पाँच वर्षका लागि प्रस्तावित आवधिक कार्यक्रम पुस्तिकामा ‘बाह्र सय पल्टन’ शीर्षक दिएर लेखिएको छ । लामाबगर गाविसको थोपागाउँमा बाह्र सय वटा ढुङ्गाको पल्टन रहेको छ ।
यस विषयमा किंवदन्ती छ– नेपाल र तिब्बतबिच लडाइँ हुँदा नेपालका तर्फबाट बाह्र सय वटा ढुङ्गाको मान्छेको आकार बनाई तिब्बतीलाई परास्त गरिएको थियो ।