• १५ मंसिर २०८१, शनिबार

मुग्लिन–नारायणगढ सडकखण्ड : भगवान् भरोसामा पहिरो रोकथाम

blog

मुग्लिन–नारायणगढ सडकखण्डको ३ नं. पुलमा खसेको पहिरोले बाटो अवरुद्ध भएपछि अलपत्र यात्रु । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असार १७ गते  । यस वर्ष मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो रोकथामको स्थायी उपाय गर्न नसकिने भएको छ। यसको स्थायी उपाय अहिले नभएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। 

गत वर्ष ३३ स्थानमा जोखिम रहेको यो सडकखण्डमा अहिले दुई स्थानमा जुनसुकै समयमा पहिरो जान सक्ने छ। यस पटक नयाँ स्थानमा पहिरो झरेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले भन्नुभयो। 

“मुग्लिन सडकखण्डको ३ नं. पुलमा झरेको पहिरोको पहाड पत्रे चट्टान हो, यस क्षेत्रमा समस्या आउँछ भन्ने हामीले अनुमान गरेका थिएनौँ,” उहाँले भन्नुभयो। प्राकृतिक प्रकोप भएकाले सामान्य रोकथाम र पहिरो पन्छाउनेभन्दा अरू केही गर्न सक्दैनौँ। झरेको पहिरोलाई हटाउन चौबिसै घण्टा सामग्री, उपकरण र सुरक्षाकर्मीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। 

३ नं. पुलसँगै मौरीको पुलमा पनि समस्या छ। यो स्थानमा पहिरो रोकथामको उपायका लागि हामीले अध्ययन प्रतिवेदन बुझाएका छौँ। अर्को आर्थिक वर्षदेखि केही काम हुन सक्छ। गत वर्ष धेरै स्थानमा पहिरो झरेको थियो भने अहिले दुई स्थानमा मात्र समस्या आएको छ। यो क्रम घट्दो छ। प्राकृतिक रूपमा नै पहिरो रोकिएमा त्यो स्थायी समाधान हुन्छ,” उहाँले भन्नुभयो। 

पहिरो खस्ने स्थानमा प्रहरी परिचालन गरिएको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रातिको समयमा बत्ती जडान गरेर सुरक्षाको व्यवस्था मिलाएको जानकारी दिनुभयो। “समस्या आउने भएकाले वैकल्पिक राजमार्ग प्रयोग गर्न सूचित गरेका छौँ,” उहाँले भन्नुभयो। तीन दिनदेखिको समस्या शनिबार साँझबाट कम हुँदै गएको छ तर शुक्रबारदेखि शनिबारसम्म दर्जनभन्दा धेरै पटक खुल्ने र बन्द हुने गरेको छ। हिउँदको समयमा कटान गरेको स्थानभन्दा नयाँ ठाउँमा पहिरो गएकाले यो सडकखण्डको जुनसुकै स्थानमा समस्या आउन सक्ने मुग्लिन–नारायणगढ सडक सुधार परियोजनाका प्रमुख किरण कर्कीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पुल बनाउन हिउँदमा पहाड काटेका थियौँ। त्यो स्थानमा अहिले पहिरो खसेको छैन, पत्रे चट्टान भएको स्थानमा पहिरो गएकाले सामान्य पानी पर्दासमेत लेदो माटोसहित पहिरो आउन सक्दछ।” 

यस वर्ष स्थानीय समाधानको उपाय खोज्न सकिँदैन अहिले भगवान् भरोसा गर्नुबाहेक अरू उपाय नभएको बताउनुभयो। 

बाटो अवरुद्ध हुँदा पूर्वबाट राजधानी काठमाडौँ जाने सवारीसाधन भरतपुर क्षेत्र र पश्चिमबाट आएका गैँडाकोटमा रोकिने गरेका छन्। यात्रुलाई खाना पानीको समस्या नहोस् भन्दै पहिरोको सूचना लिएर बजारमा रोकिँदै आएको छ।