सिन्धुली समाचारदाता
भालुमारा (सिन्धुली), असार १७ गते । खानेपानीको समस्या झेल्दै आउनुभएकी सिन्धुली जिल्लाको मरिण गाउँपालिका–३, भालुमाराकी रणकुमारी तामाङको आँगनमै खानेपानी धारा बनेको छ।
वर्षौंदेखि घरमै पानीको धारा जोड्ने सपना पूरा भएसँगै निःशुल्क खानेपानी पाएपछि अहिले तामाङ खुसी हुनुहुन्छ। तामाङको यो सपना वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोग तथा भालुमारा नमुना कृषि सहकारी संस्थाको संयोजनमा पूरा भएको हो। यो योजनाबाट रणकुमारी जस्तै ९७ घरपरिवार लाभान्वित भएका छन्।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको नवीकरण ऊर्जा कार्यक्रम अन्तर्गत ३० लाख पाँच हजार ६५९ रुपियाँ र उपभोक्ताको नौ लाख रुपियाँ बराबरको श्रमदान गरी ३९ लाख पाँच हजार ६५९ रुपियाँको लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। बस्ती तल मरिण खोलामा पानी सधैँ बग्ने भए पनि यो गाउँमा पानीको समस्या थियो। पानीकै समस्याले यो गाउँमा गरिएको खुला दिशामुक्त क्षेत्र घोषणासमेत प्रभावकारी हुन सकेको थिएन।
भालुमारा स्वच्छ खानेपानी उपभाक्ता समितिका अध्यक्ष दिनेश घिसिङले भन्नुभयो, “हिउँदमा त इनार र कुवासमेत सुक्ने गथ्र्यो। अहिले घर तथा शौचालयमा पानीको सुविधा भएको छ। यसले भालुमाराका गाउँलेको मुहारमा खुसी छाएको छ।” उहाँका अनुसार सोलार लिफ्ट सिस्टमबाट भालुमाराका घर घरमा स्वच्छ खानेपानी वितरण गरिएको हो। यसअघि त्यस क्षेत्रका बासिन्दा कुवा, खोल्सी तथा मरिण खोलाको दूषित खानेपानी खान बाध्य थिए। अहिले घर घरमै धारा आउँदा करेसाबारीमा तरकारी तथा फलफूल उत्पादन गर्न सहयोग पुगेको छ। यसअघि एक घण्टासम्मको दुरीबाट पानी बोकेर घरमा ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय शर्मिला वाइबाले सुनाउनुभयो।
आयोजनाले ९७ वटा घरमा धारा, तीनवटा सार्वजनिक धारा र दुई वटा रिजर्भ ट्याङ्की निर्माण गरेको उहाँले जानकारी दिनुभयो। मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान गाउँपालिकाले एक घर, एक धाराको अवधारणा अन्तर्गत उक्त खानेपानी योजना निर्माण भएको बताउनुभयो। उहाँले खानेपानी लिफ्ट गर्दा लाग्ने बिजुलीको शुल्क गाउँपालिकाले बेहोर्ने जानकारी दिनुभयो।