• १४ मंसिर २०८१, शुक्रबार

सार्वजनिक यातायता नचल्दा आवतजावतमा समस्या

blog

सदरमुकाम चरीकोट सातदोबाटोमा अलपत्र परेका यात्रुहरु । तस्विर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, असार ४ गते । दुई यातायात संस्थाबीचको विवादले दोलखामा यात्रुवाहक साधन सञ्चालनमा अवरोध भएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । यहाँ सञ्चालित पूर्व अरनिको यातायात र रोल्वालिङ यातायात बीच विवाद हुँदा यातायात सञ्चालनमा अवरोध भएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । 

रोल्वालिङ यातायातका व्यवसायी र मजदुरको अवरोधका कारण पूर्व अरनिको यातायातका बस र सुमो दोलखाबाट काठमाडौं जान पाएका छैनन् भने काठमाडौं छुटेका यातायातका साधनलाई पनि अवरोध गरिएको छ । पूर्व अरनिकोका सवारीका साधनलाई चरिकोटस्थित सातदोबाटो चोक र बोचमा अवरोध गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय दोलखामा यस विषयमा सामान्य छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको रोल्वालिङ यातायातका अध्यक्ष मिङकर शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीय गाडी सञ्चालन र महानगरले तोकेको बस पार्क प्रयोग गरेको भन्दै पूर्व अरनिकोले विवाद निम्त्याएपति समस्या आएको हो । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौँमा पनि अहिले छलफल भैरहेको छ । 

महानगरको निर्णय अनुसार नयाँ बसपार्कबाट बस सञ्चालन गर्दा अरनिको यातायातवाट अवरोध गरिनुका साथै मजदुर माथि कुटपिट गरिएकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिएको रोल्वालिङ यातायात व्यवसायीहरुको भनाइ छ । उनीहरुले समस्या समाधानको दिर्घकालीन उपाय नखोजिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

अरनिकोले काठमाडौंको जडिवुटी र काभ्रेपलान्चोकको दोलाल घाटमा आफ्ना सवारीका साधनलाई अवरोध गरेको भन्दै रोल्वालिङ यातायातले दोलखामा अरनिकोका सवारीका साधन सञ्चालनमा अवरोध गरेको हो । आफ्ना बस र सुमोलाई अवरोध गरिएको विषयमा अरनिको यातायातले भने आधिकारिक प्रतिक्रिया जनाएको छैन । गाउँ गाउँबाट आएका बस यात्रुहरु बिहानदेखि चरीकोटमा अलपत्र अवस्थामा छन् ।