• १३ असोज २०८१, आइतबार

निर्देशन अवज्ञा गर्दै क्रसर

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ ५ गते । रुकुमपश्चिमका विभिन्न स्थानमा स्थानीय सरकारको निर्देशन अवज्ञा गर्दै अवैध क्रसर उद्योग सञ्चालनमा छन् । गृह मन्त्रालय र स्थानीय सरकारले पटक पटक कानुनी दायरामा आउन सूचना गर्दासमेत बेवास्ता गर्दै क्रसर उद्योग सञ्चालनमा छन् ।

मुसीकोट नगरपालिका–८ मा कालिका प्यासिफिक जेभी काठमाडौँले छ वर्षदेखि अवैध रूपमा क्रसर सञ्चालन गर्दै आइरहेको छ । यस उद्योगलाई गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत गरेका परिपत्र र स्थानीय सरकारले गर्ने कडाइले छुन सकेको छैन । मुसीकोट नगरपालिकाका राजस्व शाखा प्रमुख प्रेमबहादुर खड्काका अनुसार वर्षौंदेखि अवैध रूपमा उत्खनन गर्दै आइरहेको कालीका क्रसर उद्योगले हालसम्म पनि स्थानीय सरकारबाट अनुमति लिएको छैन । अनुमति सम्बन्धमा जानकारी लिन पटक पटक पालिकाले क्रसर कम्पनीलाई ताकेता गर्दा पनि कानुनी दायरामा नआएको बताइन्छ ।

राजस्व शाखा प्रमुख खड्काका अनुसार स्थानीय सरकारले बनाएको नदी उत्खनन, सङ्कलन, बिक्री तथा व्यवस्थापन कार्यविधि, २०७९ अनुसार स्थानीय सरकारको अनुमति लिएर मात्र उद्योग सञ्चालन गर्नुपर्ने हुन्छ । तथापि सो उद्योगले सरकारको नीतिलाई अटेर गरिरहेको अवस्था छ । मध्यपहाडी राजमार्गका लागि नदी उत्खनन गरिएको भनिए पनि राजमार्गको काम एक वर्ष पहिला नै सकिएको र अझै अवैध रूपमा बालुवा, गिट्टी उत्खनन गरिएको बताइन्छ । नदी उत्खनन कार्य नरोकिएमा उद्योगका सामग्री जफत गर्ने तयारीमा नगरपालिका छ ।  जिल्ला सदरमुकाम खलङ्गामा सञ्चालित इन्टरलक इँटा उद्योग पनि स्थानीय सरकारको अनुमतिबिना सञ्चालनमा छ । 

मुसीकोट नगरपालिका–९, होलतारामा पिएच शङ्करमालाली निर्माण सेवाले, सानीभेरी गाउँपालिका–१, चाइनाबगरमा रहेको चन्द्रा एन्ड वसन्त जेभीले सञ्चालन गरेको क्रसर उद्योगले स्थानीय सरकारबाट अनुमति लिएको छैन । स्थानीय सरकारको अनुमति लिएका प्रायः क्रसर उद्योग मापदण्ड पूरा गरेर सञ्चालन भएको पाइँदैन । 

मध्यपहाडी राजमार्ग प्रयोजनका लागि भन्दै मुसीकोट नगरपालिका–१३, मायती विल्डर्स प्रालि, चौरजहारी नगरपालिका–२ को स्वच्छन्द बाँनिया द क्याराभान जेभी र मुसीकोट नगरपालिका–८ मा रहेको कालीका प्यासिफिक जेभीले क्रसर उद्योग सञ्चालन गरेका थिए । राजमार्गमा कालोपत्रेको काम भने सबै स्थानमा पूरा भइसकेको छ । पुस महिनामा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द  गर्न निर्देशन दिएको थियो । 

जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले मन्त्रालयको निर्देशन अनुसार कानुनविपरीत रहेका सञ्चालनमा रहेका ढुङ्गा, गिटी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग तत्काल बन्द गर्न सूचना जारी गरिसकिएको बताउनुभयो । अवैध रूपमा उत्खनन कार्यमा संलग्न उद्योगलाई छानबिन गरी कारबाही गरिने निमित्त प्रजिअ बडुवालको भनाइ छ ।