कमल शर्मा
दैलेख, वैशाख २३ गते । टोल विकास संस्थामार्फत विकास निर्माणको काम अघि बढाउन भगवतीमाई गाउँपालिकाले टोलविकास संस्थाका पदाधिकारीको क्षमता विकास तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना तथा नवप्रवर्तन साझेदारी कोषको सहयोगमा गाउँपालिकामा गठन गरिएका ३८ वटा टोल विकास समितिलाई क्षमता विकास तालीम दिइएको हो ।
भगवतीमाई गाउँपालिकाका सूचना अधिकारी प्रेमबहादुर खड्काले उपभोक्ता समितिलाई निरुत्साहित गर्दै टोल विकास संस्थामार्फत विकास निर्माणका काम सञ्चालन गर्न उनीहरूको क्षमता विकासका लागि दुई दिने तालिम दिइएको जानकारी दिनुभयो ।
उहाँले टोल विकास संस्थाका पदाधिकारी र सदस्यलाई टोल विकास संस्थाको काम, कर्तव्य, अधिकार, बस्तीस्तरका योजना छनोट, योजना तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया लगायतका विषयमा क्षमता विकास प्रशिक्षण दिएको बताउनुभयो । उहाँले गाउँपालिकाले सात वडाका रहेको टोल विकास संस्थालाई दर्ता गरेर विकास निर्माणका काम सुरु गर्ने पक्रिया सुरु गरेको छ । आगामी आर्थिक वर्षमा गाउँपालिकाका सम्पूर्ण योजनाहरू टोल विकास संस्थामार्फत सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “टोल विकास समिति, टोलमा रहेका समुदायको प्रत्यक्ष रोजगारी सिर्जना हुनेगरी योजना बनाइएको छ ।” भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले गाउँपालिकाले वा वडा कार्यालयमार्फत सञ्चालन हुने योजनाहरू उपभोक्ता समिति गठन गर्ने र राजनीतिक भागबण्डामा उपभोक्ता समिति गठन गर्ने समस्याका, काममा गुणस्तर नहुने, उपभोक्ता समितिले अन्य ठेकेदारलाई काम दिने र ठेकेदारले काम नगर्ने प्रथाको अन्त्य गर्न टोलविकास संस्था दर्ता गरी योजना कार्यान्वयन गर्न लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँपालिकामा रहेको टोल विकास संस्थाबाट श्रमरोजगार बैङ्कमा आबद्ध भएका युवालाई विकास निर्माण समेत जोड्न सहज हुने बताउनुभयो ।
आगामी वर्षका लागि ल्याउने नीति तथा कार्यक्रममा समेत योजना छनोट गर्दा राजनीतिक दलभन्दा पनि टोलमा आवश्यकताका आधारमा छनोट हुने विश्वास आफूले लिएको बताउनुभयो ।
भगवतीमाई गाउँपालिका –३ का विनोद नेपालीले गाउँपालिकाले योजना कार्यान्वयन गर्न टोल विकास संस्थालाई जिम्मेवारी दिने र विकास निर्माणमा सुशासन पारदर्शिता कायम गर्न उक्त कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । यो आर्थिक वर्षमा केही योजना टोल विकास संस्थामार्फत काम गरेको र केही उपभोक्ता समितिमार्फत काम गरेको गाउँपालिकाले जानकारी दिएको छ ।