• १२ मंसिर २०८१, बुधबार

नागरिकले राखे गुनासो

blog

दैलेख समाचारदाता

दैलेख, फागुन ३० गते । भगवतीमाई गाउँपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइमा निर्वाचनका बेला गरिएका प्रतिबद्धताअनुसार विकास निर्माणको कार्य नभएको स्थानीयले गुनासो गरेका छन् । 

भगवतीमाई गाउँपालिका–२, रुमका तेजबहादुर नेपालीले निर्वाचनका बेला जनताका बीचमा गरिएका प्रतिबद्धता जनप्रतिनिधिले भुलेको बताउनुभयो । उहाँले निर्वाचनका बेला युवालाई रोजगारी, दलितको उत्थान, शिक्षामा गुणस्तर सुधार, भौतिक पूर्वाधार निर्माणजस्ता प्रतिबद्धता व्यक्त गरिएको भए पनि एक वर्षमै ती सबै भुलेको बताउनुभयो । 

उहाँले भगवतीमाई गाउँपालिकामा ३७ प्रतिशत दलितको जनसङ्ख्या भए पनि दलित लक्षित कार्यक्रममा बजेट विनियोजन नभएको गुनासो गर्नुभयो । 

भगवतीमाई गाउँपालिका–५ का जगतबहादुर शाहीले गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रम सामाजिक परीक्षणबिनै भुक्तानी हुने गरेकोमा आपत्ति प्रकट गर्नुभयो । उहाँले गाउँपालिकाले सुशासन प्रवद्र्धन कार्यविधि २०७८ जारी गरेको भए पनि त्यसको मर्म र भावनालाई समेत कदर नगरेको आरोप लगाउनुभयो । शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रको अवस्थामा जनप्रतिनिधिले हिजो गरेका प्रतिबद्धता भुलेको उहाँको भनाइ छ । भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले निर्वाचित भएको एक वर्ष पुग्न नपाउँदै जनप्रतिनिधिले प्रतिबद्धता बिर्सिएको भन्न नमिल्ने चर्चा गर्दै धेरै काम सुरु गरेको तर त्यसको परिणाम आउन समय लाग्ने बताउनुभयो ।

उहाँले नागरिकका गुनासा सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै पालिकाको सेवा र काममा खबरदारी गर्न नागरिकलाई आग्रह गर्नुभयो ।