• १३ असोज २०८१, आइतबार

निःशुल्क विद्युत् मिटर जडान

blog

ढल्केबर समाचारदाता 

ढल्केबर, फागुन ४ गते । धनुषाको बटेश्वर गाउँपालिका–४, पुजारी टोलमा बसोबास गर्ने विपन्नको घरमा निःशुल्क विद्युत् मिटर जडान गरिएको छ। एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा बटेश्वरमा सञ्चालित नवदुर्गा महिला कृषि सहकारी संस्था लिमिटेडले पुजारी टोलका विपन्नको घरमा निःशुल्क विद्युत् मिटर जडान गरेको हो। 

एडीबी परियोजनाअन्तर्गत उद्यमशीलता, विकास तथा जीविकोपार्जन धनुषाका संयोजक मीना बस्नेतले ऊर्जामा आधारित उद्यमशीलता कार्यक्रमअन्तर्गत आर्थिक अवस्था कमजोर भएका घरपरिवारमा निःशुल्क विद्युत् मिटर जडान गरिएको बताउनुभयो। यो गाउँपालिकामा विद्युत् मिटर जडान नगर्ने ५४ घरपरिवारको पहिचान गरिएको थियो। तीमध्ये १७ घरमा मिटर जडान गरिसकेको र बाँकीको काम भइरहेको छ। 

गाउँपालिका र विद्युत् कार्यालयको समन्वयमा विपन्नको घरमा मिटर जडानलगायत विद्युत् नपुगेको क्षेत्रमा विद्युत् लाइन विस्तार तथा ट्रान्सफर्मर जडानको कामसमेत गरिरहेको उहाँले जानकारी दिनुभयो। पुजारी टोलमै एक सय केभीएको एउटा ट्रान्सफर्मर जडान गरिएको संयोजक बस्नेतले जानकारी दिनुभयो। गाउँपालिकामा चार सय जनालाई उद्यमीका लागि ऊर्जा प्रयोगमा आधारित जीविकोपार्जन गर्न क्षमता अभिवृद्धि तालिम र दुई सय जनालाई व्यवसायिक शिक्षा तालिम सञ्चालन गर्न लागिएको बताउनुभयो। 

बटेश्वर गाउँपालिकाका अध्यक्ष रामआशिष महतोले आर्थिक अवस्था कमजोर भएर विद्युत् मिटर जडान गर्न नसकेकाहरूको घरमा निःशुल्क मिटर उपलब्ध गराएर संस्थाले धेरै राम्रो काम गरेको बताउनुभयो। उहाँले घरघरमै मिटर भएपछि विद्युत् चोरी रोकिने जानकारी दिनुभयो।