काठमाडौँ, मङ्सिर २२ गते । सिरहा जिल्ला गोलबजार नगरपालिका–३, जम्दहकी जानकीदेवी पासवानको १३ वर्षको उमेरमा विवाह भयो। दुई छोरी जन्मिएपछि श्रीमान् देवनारायण पासवानले छोरा चाहियो भन्दै कुटपिट र शारीरिक यातना दिन थाल्नुभयो। सासू र श्रीमान्ले बारम्बार कुट्ने र घरबाट निकाल्ने गर्दै आउनुभयो।
जानकीदेवीबाट छोरा नभएको भन्दै देवनारायणले अर्को विवाह गर्नुभयो। छोराका लागि चारवटा विवाह गर्नुभएका देवनारायणले कान्छी श्रीमतीबाट एक छोरा र एक छोरी भएपछि हाल सिरहा सदरमुकाममा बस्दै आउनुभएको छ। जानकीदेवी जम्दहस्थित घरमा बस्नुहुन्छ। ललित महिला केन्द्र नेपालद्वारा लैङ्गिक हिंसासम्बन्धी १६ दिने अभियानका अवसरमा आयोजित कार्यक्रममा सहभागी जानकीदेवीले भन्नुभयो, “श्रीमान् र सासूले छोरा चाहियो भनेर कुटपिट गर्थे, खान दिँदैनथे, मैले कहीँकतै उजुरी पनि गरेको छैन, उजुरी ग¥यो भने मार्छन् कि भन्ने डर लाग्थ्यो। छोरा चाहियो भनेर कुटपिट गर्थे, छोरा मैले कहाँबाट ल्याउने ?” जानकीदेवीको विवाह भएको १५ वर्ष भयो। करिब १० वर्ष दैनिक हिंसामा परेको उहाँको भनाइ छ। दुई छोरीको पनि विवाह भइसक्यो। जेठी छोरी र ज्वाइँलाई सहाराका लागि घरमै राखेको उहाँको भनाइ छ। जानकीदेवी दैनिक ज्याला मजदुरी गर्नुहुन्छ।
श्रीमान् देवनारायण कान्छी श्रीमतीसँग बसे पनि कहिलेकाहीँ घरमा आएर गाली गर्ने, घर छोड भनेर धम्की दिने गरेको बताउँदै उहाँले भन्नुभयो, “मलाई अहिले पनि डर छ, घरमा बस्न दिन्नन्, घर छोड भन्छन्। अब म कहाँ जाउँ ?”
कार्यक्रममा सहभागी गोलबजारकी चन्द्रमाया विश्वकर्माले पनि परिवारमाथि भएको जातीय भेदभावको घटनाको स्मरण गर्दै ‘किन दलित भएर जन्मिएको होला’ भनेर प्रश्न गर्नुभयो। घर नजिकैको सार्वजनिक इनार छुँदा जेठानी दिदीलाई स्थानीय गैरदलितले कुटपिट गरेर हात भाँचिदिएका थिए। आठ वर्षअघिको उक्त घटनाले आफ्नो परिवार नै समाजसँग डराएर बस्नु परेको विश्वकर्माको भनाइ छ। उहाँले भन्नुभयो, “हामी सबै परिवार डराएर बाहिर निस्कन सकेनौँ, समाजले मिलापत्र गराइदियो तर अहिले पनि समाजमा हामीमाथि छुवाछूत भइरहेको छ।”
जानकीदेवी र चन्द्रमायाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीका अगाडि आफ्नो समस्या राख्नुभएको थियो। मन्त्री रेग्मीले भने जानकीदेवी र चन्द्रमायाले भोगेको हिंसा र विभेदबारे भन्दा पनि मन्त्रालय नै हिंसामा परेको चर्चा गर्नुभयो। उक्त कार्यक्रममा सहभागी मन्त्री रेग्मीले भन्नभुयो, “९५ प्रतिशतभन्दा बढी घरमा महिलामाथि हिंसा छ, मन्त्रालय आफैँ हिंसामा छ। सङ्घीयता आएपछि जिल्लास्थित महिला विकास कार्यालय पनि विघटन भए।” आफ्नो मन्त्रालय करिब ८० प्रतिशत जनसङ्ख्याको अभिभावक भएको तर बजेट अन्य मन्त्रालयको भन्दा कम भएको गुनासो उहाँले गर्नुभयो।