• ८ वैशाख २०८१, शनिबार

मिर्गौला ओसारपसार गर्ने गिरोहको निसानामा सडक बालबालिका

blog

काठमाडौं, साउन ४ गते । नेपालमा अहिलेको अवस्थामा मानव अङ्ग बेचबिखन भइरहने हो भने अबको केही समयमा स्थिति भयावह हुनसक्ने मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) दानबहादुर मल्लले बताउनुभयो । मिर्गौला ओसारपसार गर्ने गिरोहको निसानामा पछिल्लो समय सडक बालबालिका परेको उहाँको भनाइ छ । 

उहाँका अनुसार काठमाडौंका सडक बालबालिका तथा मजदुरको मिर्गौला बेचेको आरोपमा आइतबार मात्रै पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुले मिर्गौला बेच्न दुई जना युवालाई भारत लैजान तयारी अवस्थामा राखेका बेला पक्राउ परेका हुन् । 

एसपी मल्लले भन्नुभयो, “काठमाडौंको सडकपेटीमा बस्ने सडक बालबालिकासँग चिनजान गर्न लगाई ती बालबालिकालाई मानिसको शरीरमा दुईवटा मिर्गौला हुन्छ, एउटा बेच्दा केही असर हुँदैन, पाँच लाख रुपियाँ पाइन्छ र ५० हजार पर्ने मोबाइलसमेत पाइने लोभ देखाइन्छ ।” उनीहरुले काठमाडौंको सडक बालबालिका र मजदुरलाई फकाएर मिर्गौला बेच्नेगरेको अनुसन्धानबाट खुलेको एसपी मल्लको भनाइ छ । 

पीडितलाई फकाउने तरिका एउटै मिर्गौलाले पनि बाँच्न सकिने हुन्छ । “आफूले पनि मिर्गौला बेचेर मिर्गौला झिकेको खत देखाई विश्वासमा पार्नेगरेको अनुसन्धानमा देखिएको छ,” एसपी मल्लले भन्नुभयो । पक्राउ परेकामध्ये दुईजना त्यसरी नै मिर्गौला बेचेका पीडित हुन् । उनीहरुले आफ्नो शरीरबाट मिर्गौला झिकेको खत देखाएर शरीरमा दुईवटा मिर्गौला हुन्छ, एउटा बेच्दा केही असर हुँदैन भनी पीडितलाई फकाउनेगरेको अनुसन्धानबाट खुलेको छ । 

एउटा बेच्दा केही असर हुँदैन, पाँच लाख रुपियाँ पाइन्छ र ५० हजार पर्ने मोबाइलसमेत पाइने लोभ देखाइन्छ ।

जाहेरवालाहरु परिवर्तित नाम २६ बबरमहल (९९) र १०० लाई विश्वासमा पारेको र उनीहरु भारत जान सहमत भएपछि होटलमा खाने बस्ने व्यवस्था मिलाई शारीरिक परीक्षण गर्दा मिर्गौला दानका लागि योग्य देखिएपछि असार १५ गते भारतको कोलकत्ता लैजान तयारी अवस्थामा राखिएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा गुल्मीको तम्घास– २ घर भएका विजय कुँवर र दैलेख घर भएका विमल शाही, रामेछापको मन्थली नगरपालिका घर भएका धनबहादुर रोका उर्फ हिमाल, दैलेखका २८ वर्षीय धुपेन्द्र शाही र झापा घर भएका आशिष तामाङ छन् । “सर्लाही घर भएका २० वर्षीय र ३० वर्षीय युवकलाई हेटौंडा–वीरगञ्जबाट रक्सौल हुँदै कोलकत्ता लैजाने तयारी थियो” बयानमा जाहेरवालाले बोलेको मल्लको भनाइ छ । ती युवकलाई भारत लिएर हिँडेको अवस्थामा प्रहरीले कोटेश्वरमा पक्राउ गरेको थियो । 

मिर्गौला ग्रहणकर्तासँग मोलमोलाइ

गिरोहले मिर्गौला ग्रहणकर्तासँग मिर्गौला प्रत्यारोपणका लागि मोलमोलाइ गर्ने काम गर्छ । ग्रहणकर्ताको आवश्यकताअनुसारको मिर्गौला दाता खोज्न सहयोगी परिचालन गर्ने र सहयोगीलाई भूमिका अनुसार पैसा दिने गरिन्छ । 

ग्रहणकर्तालाई के कुन रक्त समूहको मिर्गौला आवश्यक छ, यकिन गरी पीडितलाई प्रलोभनमा पारिसकेपछि पीडितलाई सुरक्षितसाथ होटलमा राख्ने, मिर्गौला प्रत्यारोपण कार्य सम्पन्न भएपछि नेपाल फिर्ता ल्याउने र राख्न होटलको व्यवस्था गर्ने काम विजय कुवँरले नेपालमा गरेको देखिएको एसपी मल्लले बताउनुभयो ।  

सुविधा सम्पन्न बसाइ

किड्नी बेच्न तयार भएपछि परीक्षणका लागि गिरोहले सुविधा सम्पन्न होटलमा पीडितलाई राख्नेगरेको छ । होटलमा राखेर रगत परीक्षण गर्ने र परीक्षणमा सबै कुरा ठीक भएपछि कोलकत्तासम्म लैजाने गरिन्छ । त्यसको जिम्मा विजय कुँवरले लिएको मल्लको भनाइ छ ।  नेपालबाट कोलकत्तासम्म मिर्गौला बेच्न एक जनालाई लगेबापत पाँच लाख रुपियाँ गिरोहले लिनेगरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

पीडित उद्धारको विवरण

आर्थिक वर्ष २०७८–७९ मा १०८ मिर्गौला पीडितको उद्धार गरिएको छ । जसमा ४ पुरुष, १०४ महिला र ३९ जना बालिका रहेको ब्युरोको तथ्याङ्क छ । तथ्याङ्कअनुसार दर्ता मुद्दाको सङ्ख्या १४२ छ । पीडित ११८ महिला, ११ पुरुष गरी जम्मा १०९ जना छन् । 

पक्राउ पर्नेमा ११९ पुरुष, ४६ महिला गरी जम्मा १७५ जना र ८० पुरुष, २९ महिला गरी जम्मा १०९ फरारको सूचीमा छन् । आर्थिक वर्ष २०७८–७९ मा २० वटा यस्तो मुद्दाको फर्स्यौट भएको छ । 

ब्युरोको विवरणअनुसार सबैभन्दा बढी भारतबाट १५ जनाको उद्धार गरिएको छ । ओमनबाट तीन, कुबेत एक, दुबई एक, श्रीलङ्का एक, इराक एक र आन्तरिक १७ जना गरी जम्मा ३९ जनाको देशअनुसार उद्धार गरिएको छ ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।