• १४ कात्तिक २०८२, शुक्रबार

सरिबुङ पास हिँडेका अस्ट्रियाली पर्यटकसहितको टोली दामोदर कुण्डमा रोकिए

blog

मुस्ताङ र मनाङ जिल्ला जोड्ने सरिबुङ पास । तस्बिर सौजन्य : गुगल

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), कात्तिक १४ गते ।
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४यारा हुँदै सरिबुङ पासका लागि निस्किएको अस्ट्रियाली पर्यटकसहितको टोली भारी हिमपातका कारण दामोदरकुण्ड क्षेत्रमा रोकिएका छन् । मुस्ताङ र मनाङ जोड्ने चीनको तिब्बती सीमा नजिकै पर्ने सरिबुङ पासका लागि सदरमुकाम जोमसोम हुँदै गएको तीन जना अस्ट्रियाली पर्यटकसहित १४ जनाको टोली दामोदरकुण्ड आसपासका क्षेत्रमा रोकिएको हो । काठमाडौँको हिमालयन एडभेन्चरबाट गएको कात्तिक १० गते लो–घेकर दामोदरकुण्ड–४ याराबाट माथि लागेको टोली हिमपातका कारण रोकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो ।

प्रजिअ भुषालले भन्नुभयो, ‘‘विदेशी पर्यटकलाई स्थलमार्गबाट पुग्ने सम्भावना छैन, अनुकूल मौसम भएमा हेलिकोप्टरबाटै फर्काउने प्रयासमा छौँ, टोलीसँग पर्याप्त खाना भएकाले त्यहाँ बस्ने स्थानको समस्या छैन ।’’ उक्त टोलीमा विदेशी पर्यटकलाई नेपाली गाइडसहित तीन जना मुस्ताङका  भरिया रहेकाे जानकारी आएको प्रजिअ भुषालको भनाइ छ । पर्यटकसहितको टोलीसँग स्याटेलाइट फोन नभएकाले आश्रयस्थलको पहिचान गर्न नसकिए पनि याराबाट प्रस्थान गरेलगत्तै हिमपात भएकाले नजिकै भएको अनुमान गरिएको प्रजिअ भुषालको भनाइ छ । कम्पनीलाई स्थलमार्गबाट पर्यटकको टोलीलाई फिर्ता ल्याउन टोली परिचालन गर्न सम्भव नभएकाले हेलिकोप्टरबाटै उद्धारका लागि अनुरोध गरिएको छ ।

दामोदर कुण्ड क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा हिमपातका कारण समस्यामा पर्ने तीर्थयात्री तथा पर्यटकलाई लक्षित गरी धर्मशालामा खाद्यान्नसहित आवश्यक साम्रगी सञ्चित गरिएकाले करिब एक सातासम्म खाना बस्नका लागि समस्या नहुने प्रजिअ भुषालको भनाइ छ । साहसिक यात्रामार्फत दामोदरकुण्ड क्षेत्र र मनाङ जिल्लाको नार–फु उपत्यका बिचमा हिमशृङ्खला तथा जोखिमपूर्ण भिर हुँदै हिउँले ढाकिएका पहाडहरू छिचोल्दै यात्रा गर्नुपर्छ ।

काठमाडौँबाट प्रस्थान गरेको टोली १२ दिनमा यारा र दामोदर हिमालयको लुरी गुफा हुँदै घुमा थान्ती, नम्ता खोला हुँदै १५ दिनमा दामोदर कुण्ड पुगिन्छ । दामोदर कुण्डसम्म सहजै यात्रा गर्ने टोली त्यहाँबाट जोखिमपूर्ण यात्रामार्फत ४ हजार ८ सय ९० मिटरको उचाइमा अवस्थित दामोदर कुण्डबाट जापानी बेसक्याम्प, हाई क्याम्प हुँदै ६ हजार ३ सय २८ मिटरको उचाइमा अवस्थित आधार शिविर, सरिबुङ पास हुँदै नागोरुबाट मनाङ जिल्लाको फु गाँउमा पुगिन्छ । यात्राको १५ देखि २१ दिनसम्मको यात्रा निकै जोखिमपूर्ण मानिन्छ । नेपालमा हालसम्मकौ जोखिमपूर्ण पदयात्राको सूचीमा रहेको २५ दिने काठमाडौँ–दामोदरकुण्ड–सरिबुङ हुँदै फु गाउँसम्ममको यात्रा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । सरिबुङ पासबाट धौलागिरी हिमालसहित करिब अन्नपूर्ण रेञ्जका सबैजसो हिमशृङ्खलाको अवलोकन गर्न पाइन्छ ।