चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ४ गते। ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोर जलविद्युत आयोजनाको विरोध गर्दै आएका स्थानीयले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। आयोजनाको काम रोक्न पटक–पटक अनुरोध गरे पनि अटेर गरिएको भन्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाको तर्फबाट गठित अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आइतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। तीन बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आयोजनाको विरोध कार्यक्रमलाई सशक्त बनाउने सङ्घर्ष समितिले जनाएको छ।
सङ्घर्ष समितिले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमअनुसार अबको एक हप्ताभित्र आयोजनाको काम रोकेर सबै सामान फिर्ता लैजानुपर्ने रहेको छ। यस्तै एक हप्ता अर्थात् साउन ११ गतेपछि फक्ताङ्लुङ क्षेत्रमा कुनैपनि हाइड्रोपावर र कोरिडोर परियोजनाका सवारी साधन गाडी, मेसिन उपकरणहरू सञ्चालनमा अनिश्चितकालीन रोक लगाउने, घोषित कार्यक्रममाथि बल प्रयोग भएमा चरणबद्ध थप आन्दोलन घोषणा गर्ने उल्लेख गरिएको छ।
त्यस्तै हाइड्रोपावर प्रभावित सबै क्षेत्रमा आन्दोलनको सङ्गठन निर्माण गरी सशक्त बनाउने र अन्य सङ्घ सङ्गठनसँग सहकार्य गरेर अघि बढ्ने रहेको छ। सङ्घर्ष समितिले सार्वजनिक गरेको आन्दोलनकै कार्यक्रमअन्तर्गत हाइड्रोपावरविरुद्ध प्रभावित सबै परिवारको हस्ताक्षर सङ्कलन गरेर सम्बन्धित निकायमा बुझाउने रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी स्थलमा जबरजस्ती जलविद्युत् निर्माण गर्न लागेको भन्दै विरोध गर्दै आएका छन्।
उहीहरूले आदिवासीको सभ्यता र मुन्धुमीस्थलको अस्तित्वमाथि क्षति हुने गरी हाइड्रोपावर निर्माण गर्न लागेको भन्दै तीनवटै तहको सरकार, आयोजना निर्माण कम्पनी लगायतमा पटक–पटक ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको सङ्घर्ष समितिका संयोजक बीरबल लिङ्खिमले बताउनुभयो। प्रभावित क्षेत्रका बासिन्दाको अनुमतिबिना आयोजनाको काम सुरु गरिएकाले कुनै पनि हालतमा निर्माण गर्न नदिने आफूहरूको अडान रहेको संयोजक लिङ्खिमले बताउनुभयो।
निर्माण पक्षले प्रभावित क्षेत्रका बासिन्दासँग सहमतिका लागि वार्ता र सम्वाद तथा छलफल गर्न चाहेमा आफूहरू तयार रहेको पनि उहाँको भनाइ छ। बल मिच्याइँ ढङ्गले निर्माणको काम अघि बढाउन चाहेमा भने जस्तोसुकै मूल्य चुकाउनलाई प्रभावित क्षेत्रका बासिन्दा तत्पर रहेको उहाँले बताउनुभयो। सङ्घर्ष समितिले हालसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएको र अब भने स्वरूप परिवर्तन गर्दै कठोर आन्दोलन गर्ने तयारी भइरहेको समितिले चेतावनी दिएको छ।
आयोजना निर्माणको काम सुरु भएदेखि नै प्रभावित क्षेत्रका बासिन्दाले पटक–पटक निर्माण स्थालमा कालो झण्डा राख्ने, विरोध प्रदर्शन गर्ने लगायतका गतिविधि गर्दै आएको सङ्घर्ष समितिका सल्लाहकार श्री लिङ्खिमले बताउनुभयो। सल्लाहकार लिङ्खिमका अनुसार स्थानीयवासीको शान्तिपूर्ण आन्दोलनको बेवास्ता हुँदै आएकाले कठोर आन्दोलनको तयारी भइरहेको छ। जिल्लाको फक्ताङ्लुङ गाउँपालिका भई बग्ने तमोर नदीबाट तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी निर्माणको काम सुरु गरेको छ।