काठमाडौँ, साउन ४ गते । राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिताअन्तर्गत खुलातर्फको उपाधि क्षितिज भण्डारीले जित्नुभएको छ ।
हिमालयन चेस एकेडेमीको आयोजनामा काठमाडौँको त्रिपुरेश्वरस्थित वोगनभिल्ला हलमा शनिबार सम्पन्न एकदिने प्रतियोगितामा दुई सय ४७ खेलाडी सहभागी भएका थिए । जुन नेपाली ब्लिट्ज चेस इतिहासकै सबैभन्दा ठुलो सहभागिता हो ।
एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूका अनुसार गतवर्ष फिडे स्थापनाको १०० वर्ष पुगेको अवसरमा आयोजित पहिलो संस्करण ‘हिमालयन १००’ गिनिज वर्ल्ड रेकर्डमा सूचीकृत भइसकेको छ । यसपटक त्यही अभियानको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ को रूपमा आयोजना गरिएको हो ।
जसमा खुलातर्फ फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले उपाधि जित्ने क्रममा सिएम पुरुषोत्तम सिलवाललाई पछि पार्दै १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । उहाँले ९.५ अङ्क जोड्नुभएको थियो ।
यस्तै नौ अङ्क जोड्दै उपविजेता बन्नुभएका सिलवालले सात हजार रुपियाँ पाउनुभयो । ८.५ अङ्क जोड्नुभएका मुहान नरसिंह श्रेष्ठ तेस्रो हुँदै पाँच हजार रुपियाँ प्राप्त गर्नुभयो ।
शीर्ष १० स्थानमा स्थान बनाउने अन्य खेलाडी सन्देश श्रेष्ठ, रुपेश जैसवाल, प्रेमकृष्ण महर्जन, रिसन थापा, सुरोज महर्जन, प्रेम खड्का र पुरुषोत्तम चौलागाईं रहनुभयो । सबैले जनही एक हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
१९ विधामा आयोजित प्रतियोगितामा ६ वर्षदेखि ८४ वर्षसम्मका खेलाडी सहभागि थिए । कुल ६७ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा नायुमा मगर, निहाना श्रेष्ठ, प्रज्ञा पन्त, सात्विकमान तुलाधर, प्रवीर केसी, सीताराम अग्रवाललगायत ३२ खेलाडीले पुरस्कार प्राप्त गर्नुभयो ।
यसअघि प्रतियोगिताको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको थियो ।