• ४ साउन २०८२, आइतबार

सोलुखुम्बुमा ३७ करोडभन्दा बढी रकम फ्रिज

blog

गार्डेन राई

सोलुखुम्बु, साउन ४ गते । गत आर्थिक वर्षमा सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज भएको छ । गएको आर्थिक वर्ष २०८१-८२ मा ३७ करोड ७४ लाख १० हजार ६ सय ६७ रुपियाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घ र प्रदेश गरी ४ अर्ब ६१ करोड १३ लाख ३९ हजार ५ सय ५२ रुपैयाँ विनियोजित बजेटमध्ये सो रकम फ्रिज भएको हो ।

जिल्लामा सङ्घबाट चालु र पुँजीगत गरी ४ अर्ब १० करोड ९८ लाख २२ हजार पाँच सय ५२ रुपियाँ र प्रदेशतर्फको चालु र पुँजीगत गरी कुल ५० करोड १५ लाख १७ हजार गरी कुल ४ अर्ब २३ करोड ३९ लाख २८ हजार आठ सय ८४ रुपियाँ ९९ पैसा रकम खर्च भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  

कार्यालयका तथ्याङ्क अनुसार जिल्लामा सङ्घबाट चालुतर्फ ९२.४९ प्रतिशत र पुँजीगततर्फ ८९.३० प्रतिशत गरी कुल ९२.३७ प्रतिशत खर्च भएको छ ।

यस्तै प्रदेशतर्फको चालुतर्फ ८४.५१ प्रतिशत र पुँजीगततर्फ ९८.२७ प्रतिशत गरी कुल ८७.२९ प्रतिशत रकम खर्च भएको छ ।  

यसैबिच सोलुखुम्बुका ८ स्थानीय तहले सङ्घ र प्रदेशबाट मात्र आएको कुल २ अर्ब ६६ करोड ७० लाख ५६ हजार बजेटमध्ये २ अर्ब ४२ करोड ४० लाख ५४ हजार अर्थात् कुल बजेटको ९०.८९ प्रतिशत रकम खर्च गरेका छन् । 

यसैगरी सोलुखुम्बुमा प्रदेशतर्फ एक करोड १० लाख ७८ हजार नौ सय ९० रुपियाँ १४ पैसा राजश्व सङ्कलन भएको छ भने सङ्घतर्फ २४ करोड १९ लाख ५० हजार नौ सय ९१ रुपैयाँ पाँच पैसा राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले जनाएको छ । 

जिल्लाका सरकारी कार्यालयहरूमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सो तलब बराबरको रकम नै उक्त फ्रिज भएको रकम रहेको कार्यालयले जनाएको छ । सोलुखुम्बुमा विकासे रकम भने फ्रिज नभएको जनाइएको छ ।