• ४ साउन २०८२, आइतबार

निर्माण सम्पन्न, सञ्चालन भएन

blog

निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको संरचना ।

बुटवल समाचारदाता

बुटवल, साउन ४ गते । धेरै जसो योजना निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा समस्या देखिने गरेका छन् तर बुटवलमा भने निर्धारित मितिमै सम्पन्न भएका संरचनासमेत सञ्चालनमा नआउँदा सरकारी लगानी बालुवामा पानी सरह हुँदै आएको छ । 

रुपन्देहीको सैनामैना नगरपालिकामा निर्माण व्यवसायीले चार वर्षअघि हाटबजारको निर्माण सम्पन्न गरेर हस्तान्तरण गरे पनि अझै सञ्चालनमा आउन सकेको छैन । 

रुपन्देहीको सैनामैना नगरपालिका–१०, पानबारीमा ३८ लाख रुपियाँमा निर्माण गरिएको सालझन्डी हाटबजार समयमा सञ्चालन नहुँदा अहिले झाडीमा परिणत भएको छ । पूर्वपश्चिम मुख्य राजमार्ग क्षेत्रदेखि तीन सय मिटरभित्र बनेको यो हाटबजारमा व्यवसायी जान नमान्दा सञ्चालनमा समस्या आएको हो । 

सैनामैना नगरपालिकाको लगानीमा निर्माण भएको हाटबजारसम्म पुग्न आवश्यक पूर्वाधार नभएको हाटबजार व्यवसायीले गुनासो गर्दै आएका छन् । नगरपालिकाले हाटबजार सञ्चालनका लागि पहल गरे पनि व्यवसायीले भने हाटबजारमा बिजुली, पानी, हाटबजार प्रशासनिक भवनलगायतका पूर्वाधार नभएका कारण हाटबजार सञ्चालनमा कठिनाइ हुने भएकाले आफूहरू जान तयार नभएको बताएका छन् । सैनामैना नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख सुरज न्यौपानेले हाटबजार सञ्चालनका लागि आवश्यक सडक बजारसम्म पुगेको र सञ्चालनयोग्य भएको दाबी गर्नुभयो । उहाँले व्यवसायी हाटबजारमा जान नमानेका कारण अहिलेसम्म बिजुली र पानीको व्यवस्था गर्न नसकिएको दाबी गर्नुभयो । 

हाटबजारमा आवश्यक विद्युत्, खानेपानी, पर्खाल, नाली, प्रशासनिक भवन निर्माण भएको छैन । उक्त स्थानमा व्यापारीहरूले चारैतर्फबाट व्यापार गर्न पाउने गरी १८ वटा सटर निर्माण गरिएको छ । निर्माण गरिएका फलामका सटरमा खिया लागेको अवस्था छ । हाटबजार व्यवसायी रामप्रसाद अधिकारीले बजार क्षेत्रबाट अलि टाढा भएकाले बजार गर्न आउने ग्राहक नआउने समस्या देखिएकाले आफूहरू नयाँ स्थानमा जान नमानेको बताउनुभयो । 

सैनामैना नगरपालिका–१० का वडाध्यक्ष कृष्णप्रसाद घिमिरेले नयाँ हाटबजार बस्तीबाट थोरै टाढा र एकान्त स्थलमा रहेकाले हाटबजार व्यवसायी उक्त स्थानमा जान नमान्दा समस्या परेको बताउनुभयो । चार वर्षसम्म मर्मतसम्भार नहुँदा हाटबजारका सटर जीर्ण बन्दै गएका छन् भने फलामका पाइपमा खिया लागेको छ ।