नवीनराज कुइँकेल
लमजुङ, साउन ३ गते । लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागारको गेट (प्रवेशद्वार) भत्किएपछि यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ । गत बुधबार अपराह्न पौने ५ बजेतिर कारागारको पश्चिमतिर रहेको कैदीबन्दी प्रवेश गर्ने गेट भत्किएको छ ।
यहाँ रहेका सबै कैदीलाई तनहुँ र कास्की कारागारमा स्थान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो । प्रजिअ पोखरेलका अनुसार तनहुँमा ३० जना र कास्की कारागारमा ७८ जना गरी एकसय ८ कैदीबन्दीको स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएका कैदीबन्दीलाई नेपाल प्रहरी र शसस्त्र प्रहरी टोलीले चार वटा बस र एउटा हाइस माइक्रोमा राखेर गन्तव्यमा लग्नुभएको छ ।
जिल्लामै बस्नु पर्ने माग राख्दै आएका कैदीबन्दीसँग लामो छलफल, अन्तर्क्रिया पश्चात भएको लिखित प्रतिबद्धतापछि शनिबार स्थानान्तरण हुन सहमत भएका थिए । कारागारको मर्मतपछि उनीहरूलाई फेरि लमजुङ ल्याइने बताइएको छ । अन्यत्र जिल्लामा रहँदा एउटै ब्लकमा रहने गरी सम्बन्धित जिल्लाका प्रजिअ र कारागार प्रशासनसँग समन्वय गर्ने सहमति भएको छ ।
यसैगरी यहाँ बन्दीहरूले उत्पादन गरेका सामग्रीको सुरक्षा र बजारीकरणको जिम्मा कारागार प्रशासनले लिने सहमति भएको वार्तामा सहभागी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण केसीले जानकारी दिनुभयो ।
कारागार प्रशासक बेनीबहादुर मुक्तानकाअनुसार करिब ३ मिटर पर्खाल भत्किएको छ । १० जना महिला र २५ जना पुरुष गरी ३५ जना क्षमताको कारागार भए पनि जिल्ला कारागारमा तेब्बर बढी कैदी र थुनुवा छन् । कारगारमा हाल ६ महिलासहित १ सय ८ जना कैदी र थुनुवा छन् ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले यथासिघ्र कारागार पर्खाल मर्मतका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने बताउनुभयो । उहाँले भवन जीर्ण भएको र पर्खालहरूमा समस्या देखिएको बताउनुभयो । विगतका वर्षमा पनि कारागारको पर्खाल भत्किने गरेको थियो ।
विस २०२८ मा कुन्छाबाट सदरमुकाम सरेर बेंसीसहर आएको बेलामा निर्माण गरिएको यस कारागारको हालसम्म पूर्णरूपमा मर्मत सम्भार हुन सकेको छैन ।