• ३ साउन २०८२, शनिबार

सडक मर्मतमा ढिलाइ, वैकल्पिक मार्ग राति बन्द हुँदा सास्ती

blog

डुम्रे–बेँसीसहर सडक खण्डको बेँसीसहर–१, उदीपुर अँधेरी खोलामा गएको पहिरो । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, साउन ३ गते ।
डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१, उदीपुर अँधेरी खोलामा गएको पहिरोमा जाली लगाउन ढिलाइ भएको छ । एक सातामा सक्ने भन्दै गत असार २४ गते प्रतिबद्धता गरिए पनि अझै १० फिटभन्दा बढी जाली लगाएर मर्मत गर्न बाँकी रहेको छ ।

झण्डै ८० मिटर तलबाट जाली उठाउने कार्य भइरहेको छ । तर कामदारको अभावमा निर्माणमा ढिलाइ भइरहेको निर्माणपक्षले जनाएको छ । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले सात दिनमा काम सक्न निर्देशन दिनुभएको १२ दिन बित्दा पनि कामले गति लिन नसकेको स्थानीयले बताएका छन् ।

मनाङसम्म पुग्ने डुम्रे–बेँसीसहर सडकको मुख्य खण्ड मर्मतमा ढिलाइले यातायात सञ्चालनमा समस्या भएको जिल्ला ट्राफिक प्रमुख भीमबहादुर रानाभाटले बताउनुभाये । उहाँले साविककै बाटोबाट सवारी चल्न अझै ४, ५ दिन लाग्न सक्ने बताउनुभयो ।  

मुख्य सडकमा समस्या आएपछि नेपाली सेनाको चण्डीप्रसाद गण, रिठ्ठेबगर, उदीपुर बजार हुँदै सवारी सञ्चालन गरिएको छ । मुख्य सडकको मर्मत कार्य नसकिएसम्म वैकल्पिक सडक प्रयोग गरिए पनि सवारी जाम वा बाटोमा पहिरोमा परी ढिलो आएका सवारी साधनका यात्रु भने मर्कामा परेका छन् । उक्त सडकमा राति १० बजेपछि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ । त्यसैगरी जानकारी नभई नीजि सवारीमा आउनेहरूलाई पनि सास्ती भएको छ । अत्यावश्यक सवारी साधन सञ्चालनमा भने रोक लगाइएको छैन ।

यात्रुहरूले पनि अहिलेको अवस्थामा कुनै पनि सुरक्षा चुनौती नभएका कारण वैकल्पिक बाटो रातमा पनि खुला राख्नुपर्नेमा जोड दिएका छन् । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट वि.सं. २०२९ मा खन्न सुरु गरिएको यस सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पुर्‍याउन करिब साढे एक दशक लागेको थियो । वि.सं. २०४६ मा ट्रयाक खुलेसँगै वि.संं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो ।

बेँसीसहरदेखि यस सडक हुँदै सङ्घीय राजधानी काठमाडौँ, गण्डकी प्रदेश राजधानी पोखरा, चितवनलगायतका स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने गर्दछन् । साथै छिमेकी जिल्ला मनाङवासीहरूसमेत यस सडक हुँदै आवतजावत गर्ने गर्दछन् ।