• ३ साउन २०८२, शनिबार

सप्तरीमा तीन जनाको मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी) साउन ३ गते ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा शनिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–४, टेङग्री बस्ने ७० वर्षीया उर्मिलादेवी यादवको खेतमा विद्युतीय मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।

घरभन्दा एक किलोमिटर उत्तर पट्टी आफ्नै खेतमा विद्युतीय मोटरबाट अचानक करेन्ट लागि घाइते भएकी यादवलाई  उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, सोही गाउँपालिका–४, बनौलीमा शनिबार एक युवक झुण्डिएको अवस्थामा फेला परेको छ । स्थानीय १९ वर्षीय अरबिन्द साह झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।

युवक रुखमा झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

त्यस्तै, सप्तरीको राजविराज नगरपालिका–८, हिमालय टोलमा शनिबार एक महिलाको मृत्यु भएको छ । स्थानिय कृष्ण पोखरेलको घरमा डेरा गरी बस्ने सर्लाहीको चन्द्रगर गाउँपालिका–१, किसानपुर घर भएका २९ वर्षीया रितु पौडेल आफ्नै कोठाको सिलिङ पङ्खामा खादाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।