रामकृष्ण बोहरा
बागलुङ, साउन ३ गते । ट्राफिक प्रहरी कार्यालय बागलुङले आर्थिक वर्ष २०८१/८२ मा एक करोड ३१ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक गङ्गाराम विकका अनुसार एक वर्षको अवधिमा १५ हजार आठ सय ३५ वटा सवारीलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०८०/८१ मा कुल एक करोड २१ लाख ७१ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको बागलुङमा गत आर्थिक वर्षमा ८.१२ प्रतिशतले वृद्धि हुँदै उक्त राजस्व सङ्कलन भएको हो ।
प्रनानि विकका अनुसार साउनमा नौ सय ७० सवारीबाट आठ लाख ४१ हजार, भदौमा एक हजार एक सय ७४ सवारीबाट नौ लाख ६६ हजार, असोजमा एक हजार एक सय ८४ सवारीबाट नौ लाख ५८ हजार, कात्तिकमा एक हजार सात सय ४५ सवारीबाट १४ लाख सात हजार, मङ्सिरमा एक हजार छ सय ९६ सवारीबाट १४ लाख २७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।
यस्तै, पुसमा एक हजार पाँच सय ३८ सवारीबाट १२ लाख १२ हजार पाँच सय, माघमा एक हजार चार सय २१ सवारीबाट ११ लाख ७६ हजार, फागुनमा एक हजार ३ सय ८८ सवारीबाट ११ लाख ७७ हजार ५ सय, चैतमा एक हजार पाँच सय ५२ सवारीबाट १२ लाख ९९ हजार पाँच सय, वैशाखमा एक हजार दुई सय ७६ सवारीबाट ११ लाख सात हजार, जेठमा नौ सय ५८ सवारीबाट सात लाख ९८ हजार र असारमा नौ सय ३३ सवारीबाट सात लाख ९० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
सवारी अनुसार सबैभन्दा बढी राजस्व ६ हजार दुई सय ९५ वटा कार तथा जिपलाई गरिएको कारबाहीबाट ५२ लाख २५ हजार रुपियाँ उठेको छ । एक हजार पाँच सय ९४ वटा ट्रक/टिप्परबाट १३ लाख ९३ हजार पाँच सय, सात सय १३ वटा बसबाट पाँच लाख ९४ हजार पाँच सय, नौ सय ६७ वटा ट्याक्टरबाट सात लाख १४ हजार पाँच सय, ६ हजार ६१ वटा मोटरसाइकल तथा स्कुटरबाट ५० लाख ६८ हजार र दुई सय पाँच वटा अन्य सवारीबाट एक लाख ६४ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख विकले जानकारी दिनुभयो ।