• ३ साउन २०८२, शनिबार

जिल्ला जिल्लामा पूर्वाधार विकास कार्यालय

blog

इनरुवा समाचारदाता

इनरुवा, साउन ३ गते । कोशी प्रदेशको सीमित ठाउँमा रहेको पूर्वाधार विकास कार्यालय १४ वटै जिल्लामा विस्तार गरिएको छ । दुई वटा जिल्लाको कार्यालय एउटै ठाउँमा राखेर सेवा दिँदै आएकाले उपभोक्ता, ठेकेदार र नागरिकको पहुँच नहुने र भए पनि सास्ती खेप्नु परेको गुनासोलाई सम्बोधन गर्न पूर्वाधार विकास कार्यालय प्रदेशका १४ वटै जिल्लामा विस्तार गरिएको हो । सोही क्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले एक कार्यक्रमबिच सुनसरीको इनरुवा नगरपालिका–४, बसपार्कमा पू्र्वाधार विकास कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले प्रदेश सरकार सबै जिल्लामा भौतिक पू्र्वाधार विकास कार्यालय विस्तार गर्ने योजना रहेको बताउनुभयो । 

उहाँले कार्यालयसँगै यहाँको शान्ति सुरक्षा गर्नुपर्ने जिम्मेवारी र अनुगमनमा सहयोग गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभएको छ । कार्यालयका कर्मचारीलाई जिल्लामा परेका निर्माणका काम समयमा गर्न निर्देशन पनि दिनुभयो । उहाँले पूर्वाधार विकासका काम आर्थिक वर्षको सुरुवातमै गर्न र समयमा नै सक्न निर्देशन दिनुभयो ।

उहाँले प्रदेश सरकार सबै नागरिकको घर घरमा पुगेको सन्देश दिन र पालिकालाई जोड्न, विद्यालय पुग्ने, पर्यटकीय स्थल जोड्न सडकमा लगानी गर्ने बताउनुभयो । कार्यालयका प्रमुख सुशीलकुमार श्रेष्ठले अब सबै जिल्लावासीले आफ्नै जिल्लाबाट सेवा पाउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब यहाँका कार्यालयले प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने छन् ।”