• ३ साउन २०८२, शनिबार

खानेपानीको आपूर्ति व्यवस्था मिलाउन निर्देशन

blog

टोल टोलमा पानी वितरण गर्दै नेपाली सेना ।

कल्याणपुर समाचारदाता

कल्याणपुर (सप्तरी), साउन ३ गते  । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सप्तरीमा घट्दो जलस्रोतका कारण उत्पन्न खानेपानी सङ्कट समाधानका लागि निर्देशन दिनुभएको छ । उहाँले पानीको अभाव देखिएका क्षेत्रमा डिभिजन वन कार्यालय सप्तरीको एउटा ट्याङ्कर र प्रदेश सरकारद्वारा उपलब्ध गराइने दुई वटा ट्याङ्करमार्फत खानेपानी उपलब्ध गराउन जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको हो । 

शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुग्नुभएका मुख्यमन्त्री सिंहले सबैलाई आवश्यक मात्रामा खानेपानी उपलब्ध गराउन सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिनुभयो ।

यसअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लामा जलस्रोत सुक्दै गएका कारण उत्पन्न सङ्कटबारे प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक सहयोगका लागि अनुरोध गर्नुभएको थियो ।  गत असार ३२ गते बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लामा वर्षा नभएका कारण खडेरी सिर्जना भई धानलगायत अन्य अन्नबाली लगाउन सकस परेको, कृषक अत्यन्तै समस्यामा परेका र अधिकांश गाउँबस्तीमा खानेपानीको समेत अभाव भएको जनाउँदै सङ्घ तथा प्रदेश सरकारसँग  राहत र दीर्घकालीन व्यवस्थापनको माग गर्ने निर्णय गरेको थियो ।

दमकलमार्फत पानी वितरण गर्न थालेपछि केही राहत

यसैबिच वीरगन्ज समाचारदाताका अनुसार खानेपानीको समस्या झेल्दै आएका वीरगन्ज महानगरवासीलाई मधेश प्रदेश सरकारबाट उपलब्ध गराइएका दमकलले पानी वितरण गर्न थालेपछि केही राहत मिलेको छ । 

भएका चापाकल पनि सुकेर पानी आउन छोडेपछि महानगरपालिकावासीले खानेपानीको ठुलो समस्यामा परेका थिए । वीरगन्जमा रहेको नेपाली सेनाको श्रीजङ्ग गणले एउटा दमकलमार्फत टोल टोलमा बिहान ५ देखि राति १० बजेसम्म पानी वितरण  गर्न थालेको गणपति लोकेन्द्र कार्कीले जानकारी दिनुभयो ।

मधेश प्रदेश सरकारले पठाएका दमकलबाट नेपाली सेनाले जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको समन्वयमा बुधबार साँझ वीरगन्ज महानगरको वडा नम्बर २४ र २६ का विभिन्न टोलमा पानी वितरण गरेको थियो । 

त्यसै गरी बिहीबार बिहान र बेलुकी वीरगन्ज २६, २७, १९ , १५ अनि बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ र ९ का विभिन्न टोलमा पानी वितरण गरेको नेपाली सेनाको वीरगन्जस्थित श्रीजङ्ग गणले जानकारी दिएको छ । 

त्यस्तै गरी शुक्रबार बिहानैदेखि वीरगन्ज महानगरपालिकाका वडा नम्बर २३, १९, २४, १५ र ११ का विभिन्न टोलमा पानी वितरण गरिएको थियो ।  बहुदरमाई नगरपालिकामा दुई वटा दमकलले पानी वितरण गरेको श्रीजङ्ग गणका गणपति कार्कीले जानकारी दिनुभयो । 

वीरगन्ज–१५ निवासी राधिका श्रेष्ठ भन्नुहुन्छ, “हिजो अस्ती टाढा टाढाबाट खानेपानी भरेर ल्याउनु पथ्र्यो । अहिले टोल टोलमा नेपाली सेना खटिएर पानी वितरण गरेकाले हामीलाई सहज भएको छ । आजलाई त भयो भोलि कसरी र कहाँबाट पानी ल्याउने भन्ने चिन्ता भने रहिरहेको छ । त्यसैले खानेपानीको दीर्घकालीन समाधान खोजिनु पर्दछ ।”

जिल्ला विपत् व्यवस्थापन समिति पर्साले खानेपानीको समस्या भएका व्यक्ति वा टोलवासीले जिल्ला विपत् व्यवस्थापन समितिको टोल फ्री हटलाइन नम्बर ९८५५०१७९९७ मा फोन गरेर जानकारी गराएका  स्थानमा तत्काल खानेपानी वितरणको व्यवस्था मिलाएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक सूचना जारी गर्दै पर्सामा देखिएको खानेपानीको चर्को समस्यालाई तत्काल सम्बोधन गर्ने जिल्ला विपत् व्यवस्थापन समिति पर्साले फोनमार्फत जानकारी लिई नेपाली सेना खटाएर पानी वितरण भइरहेको बताउनुभयो ।