मेरो मुटुको धड्कन र पृथ्वीको चक्रीय गति
समान रहेकाले
म ढुक्क भएर कविता कोर्छु ।
मेरा दाँतबाट झरेका पसिनाका थोपाहरू
र सङ्गीनका धारिला टुप्पाबाट
तप्तप् चुहेका रगतका थोपाहरू
एक ठाउँमा मिसिँदा
कवितामा मिलेका पङ्क्तिहरू सम्झन्छु ।
लुकेर गुलेली हानेका मट्याङ्ग्रा
शीतलमा बसेर
अरूका पसिना पिउनेको कन्चटमा बजारिएछ
छेवैमा तमाखु तानिरहेको दाजुले
आफूले उडाएको धुवाँलाई हेरी
संसार भुल्दै गर्दा
पाकेको बरको गोडा तालुमा खसेर
दाजुलाई कालले जस्तै तर्सायो
दायाँ बायाँ हेर्दा
नजिकैमा साथीले आँखा पल्टाएको देख्दा
मुखको एक बुझो धुवाँ फ्याँकेर बेस्सरी चिच्याए
आर्थिक मन्दी र सेयर बजारको गिरावटले
अशान्त, आक्रान्त र शिथिल समयमा
लुकेको कोलाहल बिउँझिएन ।
मेरा आँखाबाट झरेका आँसुका थोपाहरू र
बन्दुकको नालबाट निस्किएर सेलाएका गोलीहरू
एकै ठाउँमा बिसाउँदा
शान्त भएर म कविताका वक्षस्थलमा मुस्कुराउँछु ।
ओइलिएका खेतीबाली जगाउन र
संसारको भोक जोगाउन
किसानको बर्सात कामनामा
खडेरीले नओइलिने बलिया आखरहरू
सुन्दर संसारकै लागि थिए ।
बिक्रीका लागि उसिनिएका फुलहरू र
चारोका लागि कमिला टिप्ने चल्लाहरूको
नाता र बजार प्रतिस्पर्धा देखेर
फेरि कवितामा मिलेका पङ्क्तिहरू सम्झिन्छु ।