• ३ साउन २०८२, शनिबार

रुकुमपूर्वमा पानी उद्योग सञ्चालन

blog

‘सिस्ने हिमाल शुद्ध पिउने पानी उद्योग’मा तयार गरिएको मिनरल वाटर । तस्बिरः जयमान बुढामगर

जयमान बुढामगर
रुकुमपूर्व, साउन ३ गते ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ मा पानी उद्योग (मिनरल वाटर) सञ्चालनमा आएको छ । एक करोडको लगानीमा सिस्ने–६, खोपीचारमा ‘सिस्ने हिमाल शुद्ध पिउने पानी उद्योग’ असार महिनादेखि सञ्चालन गरिएको हो । अठाले ग्रुप प्रालि रुकुमपूर्वद्वारा उक्त पानी उद्योग सञ्चालनमा ल्याइएको छ ।

पानी उद्योग स्थापनाका लागि सम्पूर्ण काम सकेर पानी उद्योग सफल परीक्षण भइसकेको उद्योग सञ्चालक सुधन रेग्मीले जानकारी दिनुभयो । कानुनी काम पूरा भएसँगै बजारमा पानी वितरण भइरहेको उद्योग सञ्चालक रेग्मीले बताउनुभयो ।

बोतल र जारमा पानी भरेर बजारमा बिक्री गरिराखेको रेग्मीले बताउनुभयो । जिल्लामा पानी उद्योग सञ्चालन गरिएको यो दोस्रो हो । २०७७ सालमा सिस्ने गाउँपालिका–७, चिसापानीमा पानी उद्योग सञ्चालन गरिएको थियो । तर, केही समयपछिदेखि उक्त पानी उद्योग बन्द भएको छ ।

अहिले रुकुमपूर्वमा रुकुम पश्चिम, दाङ, सल्यान लगायत जिल्लामा उत्पादन भएको मिनरल वाटर आउने गरेको छ । अब भने जिल्लाकै पानी उद्योगको पानी बिक्री हुने छ । उद्योगबाट प्रशोधित पानी दैनिक रूपमा ल्याब जाँच गरी बजारमा पठाउने गरिएको उद्योगले जनाएको छ ।

एक कार्टुन पानीको मूल्य एक सय ५० र सुरुमा जार किन्दा ६ सय रुपियाँ मूल्य निर्धारण गरिएको छ । भने पछि जार फेर्ने ७० रुपियाँमा मात्र लाग्ने रेग्मीले बताउनुभयो ।