• ३ साउन २०८२, शनिबार

स्मृति

कृष्णभूषणको छाप्न नपाएको फोटो

blog

कथाकार गुरुप्रसाद मैनाली, पुष्करशमशेरहरू एक दर्जन कथाबाटै अमर बन्नुभएको हो । वैरागी काइँला भन्दै हुनुहुन्छ, “होइन हौ, जम्माजम्मी ३०/३२ वटा कविता लेखेको लठुवालाई पनि के साह्रो माया गरेका ! लाजमर्दो पो भइसक्यो ।”

जीवनको कुनै कालखण्डमा कविता लेखेर क्रमशः शिथिल जीवन जिउँदै आएकाले पनि कविकै मानसम्मान पाइरहेकै छन् । लेख्न गाह्रो छ, यसमाथि पनि राम्रो लेख्न त झनै गाह्रो छ । त्यसैले त धेरै लेख्नको भन्दा राम्रो लेख्नेको मूल्याङ्कन हुँदो रहेछ । नेपाली साहित्यमा थोरै लेखर पनि मूलधारको चर्चामा सधैँ आइरहने केहीमध्येमा पूर्वबाट उदाएका कवि कृष्णभूषण बल पनि पर्नुहुन्छ । भौतिक रूपमा अलिक छिट्टै अस्ताए पनि काव्यिक जगत्मा कृष्णभूषण अमर जीवन जिइरहनुभएको छ ।

२००४ चैत १ गते इलाम जिल्लाको माल्टेनी रविमा जन्मिनुभएका टीकाराम तामाङ कविताकै कसीमा घोटिएर कृष्णभूषण बलमा परिणत हुनुभएको थियो । उहाँ आफैँले पनि उतिसाह्रो माया नगरेको खण्डकाव्य ‘दाज्यू तिम्रो हात चाहिन्छ (२०३४)’ लाई धेरैले छाम्नै पाएनन् । सबैले छामेको चाहिँ ‘भोलि बास्ने बिहान (२०४१)’ मात्रै हो । ‘दी फुल मुन एट दी रिभर ब्याङ्क’ त उहाँका छानिएका कविताहरूको अङ्ग्रेजी अनुवाद संस्करण मात्रै हो । जसको अनुवाद कर्म कवि मनु मन्जिलको अगुवाइमा भएको थियो । 

कवि बलले २०६९ असार ११ गते सोमबार विश्राम लिनुभयो । उहाँको मृत्युको तरङ्ग भूकम्प जस्तै गरी देशको राजधानीका टेलिफोन सेट र मोबाइलमा थर्किरहेथ्यो रातभर नै । केन्द्रविन्दु विराटनगर भएकाले झड्का ज्यादा केन्द्रमै हुने नै भयो । यद्यपि काठमाडौँले पनि भूकम्पको ठुलै झड्का अनुभव गर्‍यो । सिर्जनामा मात्रै परिचित हुनेहरूलाई उहाँको भौतिक अवसानको पीडा कमै अनुभव हुनु स्वाभाविक हो तर उससँग सङ्गत गरेर, बोली, व्यवहार सबै भोगेकालाई साँच्चै दुख्दो रहेछ मृत्युले । धेरै पटक अनुभव गरिएका छन् यस्ता घटना ।

मृत्युका स्वरूप पनि फरक फरक हुने । प्रातः भ्रमणबाट फर्किएर नुहाउँदै गर्दा बेहोस भएर ढलेका बलको त्यसपछि होसै फर्किएन । मस्तिष्कघात भएर ढलेका बलको निधनको समाचार थाहा पाउनेलाई पनि यकिन हुन केही समय अलमल भइरहेथ्यो । “लौ न कहाँ हो ? यतै कि विराटनगर ? यतै भए आजै आर्यघाट लाने कि भोलि प्रज्ञा–प्रतिष्ठानमा श्रद्धाञ्जलीलाई राख्ने कि नराख्ने ?” सोध्ने धेरै भएथे ।

स्रष्टाको निधनपश्चात् श्रद्धाञ्जलीका लागि प्रज्ञा–प्रतिष्ठानमा राख्ने पनि फेसन जस्तै भएको छ । त्यसो गरेको नरुचाउने केही साहित्यकारले ठाडै अस्वीकार गरेर आफ्नो शव प्रदर्शनीमा नराख्न परिवारलाई अह्राएका पनि उदाहरण छन् । उहाँ त विराटनगरमा हुनुहुन्थ्यो र तत्काल बेहोस । होसमा र यहीँ हुनुभएको भए के भन्नुहुन्थ्यो कुन्नि ? तत्कालीन अवस्थामा नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्य भएका नाताले श्रद्धाञ्जलीका लागि प्रज्ञा–प्रतिष्ठानमा राखिने पनि थियो कि ।

नेपाली साहित्यमा धेरै पहिलेदेखि उठ्दै आएको केन्द्र र मोफसलको विवाद अद्यापि मेटिन सकेको छैन । साहित्यिक वृत्तमा केन्द्र र मोफसलको कुरा बारम्बार उठिरहे पनि लेखन प्रतिभा हुनेहरूलाई जहाँ बसे पनि कुनै फरक परे जस्तो देखिएको छैन । प्रतिभावान्का लागि कुन केन्द्र, कुन मोफसल भनेर उदाहरण दिने बहसकर्ताका जिब्रोबाट पहिलो नम्बरमा फड्कारिने नाम कृष्णभूषण बलकै हुन्छ । तीर्थ श्रेष्ठ, सरुभक्त, कृष्ण धरावासी, सनत रेग्मी, क्रमशः थुप्रै नाम यो पङ्क्तिमा थपिँदै जानेमा छन् । हो, बलले पूर्वमा बसेर पनि केन्द्रलाई ब्युँझाउनुभयो । उहाँ कार्यक्रमहरूमा ‘आइदिऊन् र बारम्बार उद्घोष गरिदिऊन्– काठमाडौँ एक्लैले काठमाडौँ बोक्न सक्दैन अब’ भनेर धेरैको चाहना हुन्थ्यो । उहाँले २०३३/३४ सालतिर गरेको यो काव्यिक घोषणाले विकेन्द्रीकरणमा मात्र नभई यतिबेला सङ्घीयताका पखेटा हालेर फटफटाइरहेको छ ।

जसको पनि मनको आआफ्नो तिर्सना हुन्छ । मनले साह्रै खाएको ठाउँमा पुगूँ पुगूँ लागिरहन्छ । मेरो मनले पनि विराटनगरलाई त्यस्तो ठाउँमा राखेको छ । जन्मले ओखलढुङ्गे, बसाइँसराइले सप्तरी (फत्तेपुर) र अहिले भक्तपुर ज्यादा जोडिएको भए पनि विराटनगरसँग भावनात्मक सम्बन्ध जोडिएको छ । 

विचारका गुरु यहीँका भएथे । जीवनसाथी पनि यही सहरले दियो । केही साथी छन् साँच्चैका साथी भन्नलायक । आउनेजाने भइरहन्छ । आएपिच्छे वाणी प्रकाशन एक गन्तव्य स्थल भई नै हाल्छ । आख्यानकार परशु प्रधान र कृष्णभूषण बलहरूले नै खडा गरेको वाणी प्रकाशनमा कताकति विवादका पोका फुक्न थालेपछि परशु दाइ काठमाडौँ नै बस्न थाल्नुभएको थियो । विवश पोखरेलले ठुलै भर दिएपछि बल दाइले थापेको काँधमा वाणी प्रकाशन केही समय टिकेथ्यो । विवशजीले पनि छोडेर गुरुकुलतिर लागेपछि बल दाइको काँधमा निकै बोझिलो भएथ्यो वाणी । आर्थिक रूपमा कमजोर बनेको वाणीलाई आफ्नै घरजग्गा धितोमा राखेर बल दाइले उठाउन गरेको प्रयासबिचैमा धराशायी हुन पुग्यो । यसको पनि भोलिका दिनमा मूल्याङ्कन होला नै ।

“हैन, माथिबाट साथीभाइ आउँदा यसो स्वागतमा कार्यक्रम राख्ने गरेका थियौँ । तपाईं आउँदा त कहिल्यै अवसर जुर्दैन त, बसौँ न एक/दुई दिन विराटनगर र गरौँ एउटा कार्यक्रम !” 

बल दाइको पटक पटकको इच्छामा म आफैँ पर पर भइरहेँ । एक त समयको कारण, अर्को थोरै सङ्कोच पनि मानेकै हो । आफ्नै प्रिय सहरमा के कार्यक्रमको अतिथि बन्नु ! उहाँहरूले सद्भाव राख्नु बेग्लै हो, आफू स्वयम्ले आफ्नो मूल्याङ्कन गर्न सक्नुलाई नै म ठुलो मान्दछु । गएका बेला सँगै बसेर चियासम्म खाइन्थ्यो र यसैलाई सन्तुष्टिको मिठास मानेर फर्किन्थेँ ।

विराटनगर पुगेपछि किन किन कोइराला निवास र वाणी प्रकाशन नछिरी चित्तै बुझ्दैनथ्यो । कोइराला निवासमा छिरेर कसैलाई नभेटे पनि अगाडिको अमलाको रूखको चौतारी हेरेर मात्रै पनि चित्त बुझाइन्थ्यो । अब त कोइराला निवासमा अरू के नै बाँकी छ र ? वरदेखि परसम्मै काँक्रा चिरे झैँ चिरेर बन्डा भइसकेको छ । अग्ला अग्ला घर ठडिइसकेका छन् लाइनै । 

कृष्णप्रसाद बाजेको बुढो घर छेलिएर कता कता छोपिएको छ । केही वर्षअघिको कुरो हो, मोरङका एक जना नेपाली कांग्रेसका नेता गुनासो गर्दै थिए, “मैले त यो ऐतिहासिक तीर्थस्थल नमास्नुहोस्, बरू के गर्नु पर्छ पार्टीका तर्फबाट केही गरेर पनि सिङ्गै राखौँ भनेथेँ । हाम्रो व्यक्तिगत सम्पत्तिमा बोल्ने तँ को होस् ? भनेपछि चुप लाग्नै प¥यो तर जे भयो, नराम्रै भएको हो ।” 

बल दाइले पनि यो मामिलामा चित्त दुखाउनु भएथ्यो, “लालची देखिए है कोइराला परिवार !” उहाँ पनि यो थलोलाई तीर्थस्थल झैँ मान्नु हुँदो रहेछ भन्ने मैले बुझेथेँ । धेरैले वास्तविक तीर्थस्थल नै मानेको कोइराला निवास पुस्तान्तरणमा क्रमशः विस्मृतिमा जाँदो छ ।

बल दाइको निधन हुनु अघिल्लो वर्ष नेपाली लेखक सङ्घले विराटनगरको गुरुकुलमा ‘विराट साहित्य सङ्गोष्ठी’ को आयोजना गरेको थियो । लेखक सङ्घबारेमा धेरैले कुरा चपाई चपाई बोलिरहेका बेला भूषण दाइ मञ्चमा खरो उत्रिनुभएको थियो । स्पष्ट भन्दा हुन्छ, ‘नेपाली लेखक सङ्घ’ प्र्रजातन्त्रवादी लेखक–साहित्यकारको संस्था हो । म त अझै स्पष्ट भन्दिन्छु, “यो नेपाली कांग्रेस समर्थित स्रष्टाको संस्था हो । किन स्पष्ट नहुनु ? कसैलाई पनि भ्रममा राख्नु हुँदैन । यति भनिदिएपछि मलाई किन सदस्यता दिएनन् भनेर अरूले चित्त त दुखाउँदैनन् ।” 

त्यतिबेलै त हो, वाणीले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी हुने मौका पनि जुरेथ्यो । कार्यक्रमको समापनपछि जेरीपुरी र तरकारी थपी थपी खाइएथ्यो । भूषण दाइ आफैँ अघि सरेर जेरी थपिदिँदै भन्नुभएको थियो, “यो तात्तातो खाऊँ न ।” उहाँको यस किसिमको प्रेम र सद्भाव भुलिनसक्नु छ ।

नेपाली लेखक सङ्घका तत्कालीन उपाध्यक्ष हुनुहुन्थ्यो उहाँ र त्यसपछिको पुनर्गठनमा पनि कार्यक्रममा नआएरै उहाँलाई उपाध्यक्षको टीको लगाइदिएथ्यो अधिवेशनले । हो, निधार विराटनगर, रातो टीका काठमाडौँबाट ! बाहिर खुलेर विरोध गर्नेहरू नदेखिए पनि आफू हुन पाए हुन्थ्यो भन्नेहरू भित्रभित्रै मुर्मुरिएथे । 

मधुपर्कमा आफू संलग्न भएको नाताले त्यही भेटमै पनि उहाँसँग मधुपर्कका लागि कविता मागेथेँ । “हुन्छ, म पठाइदिन्छु” भनेका बलले कविता पठाउँदै पठाउनुभएन । केही महिनापछि काठमाडौँमा भएको एक साहित्यिक महोत्सवमा भाग लिन आउँदा भूषण दाइसँग त्यतिबेला पनि भलाकुसारी भएथ्यो । मोफसलको लेखनका सम्बन्धमा पत्रकार शेखर खरेलले मोफसलका भनिएका दुई शक्तिशाली कवि कृष्णभूषण बल र पोखराका तीर्थ श्रेष्ठसँग परिसंवाद चलाउनुभएको थियो, एक घण्टाको । त्यहाँ चाहिँ बलले अलिकति मोफसलको गन्ध र पीडा नै बोलिदिनुभयो, “बाहिर बस्नेले जति नै काम गरे पनि केन्द्रले देख्दैन, सुन्दैन । यहाँकाले भने सानो काम गर्दा पनि भयङ्कर चर्चा हुन्छ । मोफसलकाले सखुवाको दाउराले पकाएको पकवान पनि बिक्दैन । यहाँ चाहिँ भुलुक्क उमालेको चाउचाउ पनि बिकिहाल्छ । फरक यहीँनिर छ र पीडा पनि यहीँनिर छ ।”

स्पष्ट थियो यो उहाँले आफ्ना लागि बोल्नुभएको थिएन, अरू धेरैको पीडा र आक्रोशलाई उहाँले बोलिदिनुभएको थियो । ताली परर्र बजेथे अनि । उहाँ मोफसलकै मात्रै हुँदा हुन् त उहाँको अवसानमा केन्द्रले किन आँसु झाथ्र्यो र छटपटी देखाउँथ्यो । सिर्जनामा तागत हुनेहरू संसारको जुनसुकै कुनामा बसेको भए पनि त्यसको सुवास मगमगाइहाल्छ । त्यसरी मगमगाएका धेरै छन् । भूषण दाइ पनि मगमग हुनुभयो जीवनकालभर । भेटैपिच्छे मैले कविताका लागि कचकच गरिरहेँ । अन्तिम भेट नै त्यही भइदियो, विसं २०६८ भदौ ४ गतेको । उता गएपछि पक्कै पठाउँछु भन्नुभएको थियो । मैले फोटो खिच्दै भनेथेँ उहाँलाई, ल दाइ अब छाप्ने कवितामा राख्नलाई यो फोटो खिचेँ है । उहाँ मुसुक्क मुस्कुराउनुभएथ्यो । अहँ, कविता आउँदै आएन । फोन पनि गरेँ– “दाइ खै त ?”

“ए भाइ, लेख्नै सकेको छैन त । लेख्नेबित्तिकै पठाउँछु ल,” हुन्छ, हवस् भन्नुभन्दा अर्को विकल्प के थियो र मसँग ।

कवि तुलसी दिवस भेटका बेला भन्नुहुन्छ, “खै त मसँग कवितै माग्दैनौ । तिमीहरूले घचघच्याएनौ भने कसरी लेखिन्छ कविता ।” धेरै नै कर गरेर केही वर्षअघि ‘बाघचाल’ कविता लेखाएथेँ उहाँलाई । उहाँ भन्नुहुन्छ, “कविता लेख्ने होइन, लेखाउने हो ।” बल दाइलाई भने धेरै कर गरेर पनि लेखाउन सकिनँ ।