काठमाडौँ, साउन ३ गते । नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न क्षेत्रका कम्पनीलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट (बीपीए) अवार्ड, २०२४ बाट सम्मानित गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न आइक्यानको दशौं परिषदका अध्यक्ष तथा उपाध्यक्षको सपथ ग्रहण तथा अवार्ड वितरण कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो ।
निजी क्षेत्रको बैंकमा नबिल बैंक उत्कृष्ट
राष्ट्रिय उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन (बीपीए) अवार्ड, २०२४तर्फ निजी क्षेत्रका बैंकहरूमा नबिल बैंकले गोल्ड अवार्ड प्राप्त गरेको छ । सिद्धार्थ बैंकले सिल्भर र नेपाल एसबिआई बैंकले ब्रोन्ज अवार्ड प्राप्त गरे । एभरेष्ट बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरे ।
सार्वजनिक क्षेत्रका बैंकिङ संस्थाहरूमध्ये कृषि विकास बैंकले सिल्भर अवार्ड जितेको छ ।
वित्तीय सेवा क्षेत्रमा कामना सेवा विकास बैंक उत्कृष्ट
वित्तीय सेवा क्षेत्रमा कामना सेवा विकास बैंकले गोल्ड, महालक्ष्मी विकास बैंकले सिल्भर र मुक्तिनाथ विकास बैंकले ब्रोन्ज अवार्ड प्राप्त गरे । प्रभु क्यापिटल लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सर्टिफिकेट अफ मेरिट पाए ।
बीमातर्फ नेपाल इन्स्योरेन्स उत्कृष्ट
गैर–जीवन बीमातर्फ नेपाल इन्स्योरेन्स कम्पनीले गोल्ड, शिखर इन्स्योरेन्स कम्पनीले ब्रोन्ज र हिमालयन एभरेष्ट इन्स्योरेन्स तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सर्टिफिकेट अफ मेरिट हासिल गरे ।
जीवनबीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सिल्भर र आईएमई लाइफ ईन्स्युरेन्स कम्पनीले सर्टिफिकेट अफ मेरिट प्राप्त गरे ।
उत्पादन क्षेत्रमा युनिलिभर नेपालले जित्यो गोल्ड अवार्ड
उत्पादन क्षेत्रमा युनिलिभर नेपालले गोल्ड, बोटलर्स नेपाल (तराई) र हिमालयन डिस्टिलरीले जोइन्ट ब्रोन्ज तथा बोटलर्स नेपालले सर्टिफिकेट अफ मेरिट प्राप्त गरे । ऊर्जा क्षेत्रमा बुटवल पावरले सर्टिफिकेट अफ मेरिट पायो भने सेवा क्षेत्रमा ओरिएन्टल होटलले ब्रोन्ज अवार्ड जित्यो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइसिएएन) ले प्रत्येक वर्ष राष्ट्रिय उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन (बिपिए) अवार्डका लागि प्रतिस्पर्धा आयोजना गर्दै आएको छ । पुरष्कृत कम्पनीका प्रतिनिधिलाई प्रमुख अतिथि महालेखा परिक्षक तोयम रायाले अवार्ड प्रदान गर्नुभयो ।
आईक्यानले राम्रो वित्तीय प्रतिवेदन र सान्दर्भिक जानकारीको खुलासालाई प्रोत्साहन गर्ने तथा नेपालमा वित्तीय प्रतिवेदनको उच्च मापदण्ड कायम गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्दै आएको छ ।
राष्ट्रिय उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्डका विजेताहरू दक्षिण एशियाली लेखा व्यवसायी महासंघ (साफा) द्वारा आयोजित साफा स्तरीय उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्डमा भाग लिन सिफारिस हुने आइक्यानले जनाएको छ ।