नेपाली नारीले वर्षा ऋतु (साउन–भदौ) को साउन मासमा तिउरी लगाउने संस्कृति पुरानै हो । साउने सङ्क्रान्तिमा साथीसङ्गीसाथ लगाइने ‘तिउरी संस्कृति’ लाई पछिल्ला समय मेहदी लगाउने संस्कृतिले ओझल विस्थापित गर्दै लगेको छ । वर्षा ऋतुमा प्रकृतिले हरियो रूप धारण गरे झैँ मानिसले आफूलाई प्रकृतिकै समीपमा लैजान हरिया चुरा, पोते, पहिरन र प्राकृतिक वनस्पति तिउरीको प्रयोग गर्ने गरेको पाइन्छ । यो प्रकृतिप्रतिको मानव मोह हो ।
पछिल्लो समय साउन महिनाभर हरिया र पहेँला चुरा, पोते, पहिरन लगाउने प्रवृत्ति नेपाली समाजमा बढ्न थालेको छ ।
सूर्यविनायक नगरपालिका–७, गुन्डुका ७१ वर्षीय ईश्वरी थापाका अनुसार तिउरीको पातमा अरू सामग्री मिश्रण गरेर लेप बनाई हातमा लगाउने चलन काठमाडौँ वरपरका गाउँमा थियो । साउनको सङ्क्रान्तिमा तिउरी लगाउने प्रचलन पुस्तौँदेखि चलिआएको हो । माइतीघर साँखुमा हजुरआमाले सानै हुँदा खेरी नै तिउरी लगाइदिनुभएको सम्झना थापालाई अझै छ । असार–साउनमा खेतमा धान रोप्दा, गोड्दा, हिलो छुँदा छालाको रोग लाग्ने र त्यसबाट बचाउनसमेत तिउरी लगाउने गरिएको थापा बताउनुहुन्छ ।
थापा भन्नुहुन्छ, “खास गरी साउने सङ्क्रान्तिको अघिल्लो दिन बेलुका हजुरआमा, आमा र दिदीबहिनी बसेर तिउरी लगाइन्थ्यो । भोलिपल्ट गाउँभरिका महिला आफूले लगाएको तिउरी एकले अर्कालाई देखाउने गरिन्थ्यो ।”
उहाँका अनुसार साउनमा तिउरी लगाउँदा छालाको रोग मात्र नभई सौभाग्य बढ्ने र हरियो लगाउँदा हरिको दर्शन हुने कुरा गाउँघरका बुढापाका बताउँथे ।
घर वरपर तिउरी फूल पाइन्थ्यो । त्यसको पात, चरीअमिलोको झार ल्याएर मसिनो पारी पिँध्ने अनि भँगेराको बिस्टासमेत मिसाई लेप बनाएर हातगोडामा लगाउने गरेको सम्झना थापामा अझै छ ।
बेलुकीको समयमा तिउरी लाउने र सुक्न समय लाग्ने भएका कारण हातलाई केरा वा कर्कलाको पातले बेरी रातभरि राखेको र बिहान मात्र पखालेको कुरा पनि उहाँ स्मरण गर्नुहुन्छ ।
कलङ्कीकी रोशना खड्का पनि साउनको सङ्क्रान्तिको अघिल्लो दिन बाल्यकालमा तिउरी लगाउने गरेको सम्झना गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “साउने सङ्क्रान्ति आउँदा तिउरीको पात, भँगेराको बिस्टा, केराको बोटको पात जम्मा गर्ने गरेको सम्झना आउँछ । बाल्यकालका ती कुरा सम्झँदा अहिले पनि रमाइलो लाग्छ ।”
उहाँ भन्नुहन्छ, “त्यस समय घरछिमेकका दिदीबहिनी मिलेर समूहमा बसी एउटाभन्दा अर्को हात र गोडा राम्रो बनाउँदै तिउरी लगाउने गरिन्थ्यो ।”
तिउरी लगाउने चलन ब्राह्मण–क्षेत्री समुदायमा मात्र नभई त्यसताका नेवारी समुदायमा पनि रहेको थियो । कमल विनायककी सपना कोजू आफूले पनि तिउरीको पात कुटेर लेप बनाई भँगेराको बिस्टासँग मिसाएर लगाएको कुरा सम्झनुहुन्छ ।
यो प्रचलन काठमाडौँ उपत्यकामा मात्र नभई तराईका जिल्लातिर पनि थियो । विराटनगरकी इन्दिरा बस्नेतले पनि सानो छँदा दिदीबहिनीसँग मिलेर तिउरी लगाएर रमाइलो गरेको बताउनुहुन्छ ।
तिउरीको विषयमा संस्कृतिविज्ञ गणेशमान लाछी भन्नुहुन्छ, “श्रावण महिनामा आमा, दिदी, बहिनीले तिउरीको फूलका पात, अमिलो झार र भँगेराको बिस्टा मिसाएको लेप बनाउँछन् । त्यसपछि लेप लगाई फूलका बुट्टा र पातका आकार दिई हात र गोडामा लगाउने चलन थियो । तिउरी लगाउने चलन पुस्तौँअघिको हो ।”
उहाँका अनुसार पछि भारतीय बजारबाट मेहदी आउन थालेपछि मेहनत गर्ने बानी हराएको हो । परिणामतः तिउरी लगाउने चलन, तिउरीका फाइदा अझ भनौँ एउटा जडीबुटीको महत्व र सिप नै हरायो ।
लाछीले नयाँ विकास क्रम र आधुनिकताले नेपाली संस्कृति, चाडपर्व, जडीबुटीको महìव, मानिसको प्रकृतिलाई बुझ्ने क्षमता नै लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।
असार–साउन महिना तिउरीनामक फूलको प्रजातिका बोटबिरुवा करेसाबारीमा पाइन्छ । यसमा अमिलो जातको वनस्पति चरीअमिलो वा अकरैकाँची (ठाउँ अनुसार फरक नामले चिनिने) झारलाई मिलाएर कुटेर लेप बनाएर तिउरी लगाउने चलन छ ।
तिउरी लगाउने चलन साउने सङ्क्रान्तिको अघिल्लो साँझ वा साउन मासभरि (ठाउँ अनुसार फरक रहेको) छ । यसरी तिउरीको लेप लगाएपछि कर्कलाको पात वा केराको पातले टम्म बाँधिन्छ । यसरी बाँधेको हात लगभग चार वा पाँच घण्टापछि मात्र खोल्ने र धुने गरिन्छ । यसरी लगाएको तिउरीले हातमा पूरै गाडा रातो बस्छ । नेपाली नारीले हात सफा गरिसकेपछि पनि रङलाई अझै गाढा र टिकाउ बनाउन तेल वा अमिलो दल्ने गर्छन् ।
तिउरी बहुउपयोगी वनस्पति हो । यो बिरुवा अहिले संसारका धेरै देशमा पाइने दाबी गरिए पनि दक्षिण एसियाली नेपाल र भारत यस बिरुवाको उत्पत्ति स्थल मानिन्छ । यो फूल सुन्दर भएकाले बगैँचाको फूलबारीमा लगाउने चलन छ । नेपालमा तिउरीको एकाउन्न प्रकारका जाति भए पनि तीन प्रजाति बगैँचामा लगाइने गरेको पाइन्छ । तिउरीलाई छाला रोग, सर्पदंश, आगोले पोलेको अङ्गका साथै ग्यास्टिक र कब्जियत रोगका लागि प्रयोग गर्ने चलन छ ।
नेपाली नारीहरू तिउरी लगाएपछि जसको हातमा तिउरीको रङ गाडा बस्छ, उसलाई विवाहित भए श्रीमान्ले र अविवाहित भए प्रेमीले धेरै माया गर्छन् भनी हँसीमजाकसमेत गर्ने गरिन्छ ।