• ३ साउन २०८२, शनिबार

बाह्र वर्षमा सकियो चिस्यान केन्द्र निर्माण

blog

बाघखोरमा निर्माण सम्पन्न भएको चिस्यान केन्द्र । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, साउन ३ गते ।
बाह्र वर्षअघि निर्माण सुरु भएको चिस्यान केन्द्रको (कोल्ड स्टोर) निर्माण कार्य सकिएको छ । तानसेनको वडा नं. ७ बाघखोरमा १२ वर्षअघिदेखि सुरु भएको चिस्यान केन्द्र (कोल्ड स्टोर) एक दशकसम्म अलपत्र बनेको थियो ।  

तानसेन नगरपालिका र भारतीय दुताबासको संयुक्त लगानीमा वि.सं. २०६९ फागुन २३ गते हिम्दुङ् एण्ड ठोकर÷जय रक्तकाली जेभीले ठेक्का पाएको थियो । ठेक्का पाएको केही वर्षसम्म काम गरेर चिस्यान केन्द्र निर्माण अलपत्र परेको थियो । सो कम्पनीले २०७१ जेठ मसान्तभित्रमा काम सक्ने गरी चार करोड ९९ लाख ९१ हजार रुपियाँमा चिस्यान केन्द्र निर्माणको ठेक्का पाएपनि काम अलपत्र रहँदै आएको थियो ।

एक दशकभन्दा बढी समय अलपत्र रहेको चिस्यान केन्द्रको निर्माण कार्य सकिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । सम्पन्न नहुने चिस्यान केन्द्रको कामलाई सम्पन्न गर्न आफूहरूले अथक प्रयास गरेको उहाँले दाबी गर्नुभयो । मुख्य ठेकेदारलाई कारबाही गर्ने पत्र पठाएपछि चिस्यान केन्द्र निर्माणले गति लिएको र अहिले सम्पन्न भएको उहाँले बताउनुभयो ।  

एक दशकसम्म पनि चिस्यान केन्द्र अलपत्र परेपछि स्थानीय बासिन्दाले बन्ने आश मारिसकेका थिए । निर्माण व्यवसायीलाई पछिल्लो पटक चालु आव २०८१/०८२ को असार मसान्तभित्र काम सक्ने गरी म्याद थप गरिएको थियो ।

सोही म्यादभित्र चिस्यान केन्द्रको पूर्वाधार निर्माण सकिएको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो । ‘‘चिस्यान केन्द्रको पूर्वाधार निर्माणको काम सकिएको छ ,’’ उहाँले भन्नुभयो, ‘‘अब प्रविधि जडान र फर्निचर व्यवस्थापनको काम बाँकी छ, असारभित्रै काम सकिन्छ उहाँले थप्नुभयो ।’’

लामो समय काम नगरेको भन्दै तानसेन नगरपालिकाले तीन वर्षअघि निर्माण व्यवसायीलाई कारबाही गर्ने निर्णय गरेको थियो । गत वर्ष भारतीय दूतावासका प्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गरेपछि कारबाही फुकुवा गर्नासाथ मुख्य निर्माण व्यवसायीले काम पुनः अगाडि बढाएको थियो ।

चार रोपनी क्षेत्रमा निर्माण भइरहेको चिस्यान केन्द दुई सय मेट्रिक टन क्षमताको रहेको छ । यो चिस्यान केन्द्र बने पाल्पा, गुल्मी र स्याङ्जाका किसानले उत्पादन गरेका तरकारी तथा फलफुल भण्डारण गर्न सक्नेछन् । चिस्यान केन्द्र बनेपछि किसानले उत्पादन गरेको तरकारी, सुन्तला, आलु, फलफुल भण्डारण गर्न सहज हुनेछ ।