• ३ साउन २०८२, शनिबार

भाषाभित्रको साङ्केतिक भाषा

blog

सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिले प्राथमिक वा मातृभाषाका रूपमा प्रयोग गर्ने इसारा तथा सङ्केतको भाषा र त्यस व्यवस्थाभित्र सञ्चार हुने एक फरक भाषिक भेद साङ्केतिक भाषा हो । जसरी सुनाइ बोलाइ भएका व्यक्तिले आवाज वा ध्वनियुक्त भाषा स्वतः प्रयोग गर्छन् । त्यसै गरी बहिरा व्यक्तिले सङ्केत वा इसाराको भाषा प्रयोग गर्छन् । इसारा र सङ्केतमा केही भिन्नता हुन्छ अर्थात् इसाराका आधारमा साङ्केतिक भाषा व्यवस्थित गरिने हुँदा इसारा कच्चा पदार्थ जस्तै र साङ्केतिक भाषा उक्त पदार्थबाट निर्मित तयारी सामग्री जस्तै हो । आफ्ना कुरा, भावना, सूचना सम्प्रेषण गर्न बोली भाषाको सट्टा विभिन्न हस्त आकार, हातका औँला, मुखाकृति, शारीरिक हाउभाउ इत्यादि सञ्चालन गरेर भाषिक सञ्चार गर्ने भाषा नै साङ्केतिक भाषा हो । यस भाषामा प्राकृतिक र निर्मित औपचारिक गरी दुई अवस्था रहन्छन् । प्राकृति सङ्केत सजिलै गर्न सकिन्छ । 

औपचारिक साङ्केतिक भाषालाई अर्थपूर्ण प्रयोग गर्न बहिरा व्यक्ति वा बोली भाषा प्रयोग गर्ने व्यक्तिले यस भाषा सिक्नु वा तालिम गर्नु पर्छ । कुनै भाव वा विषयवस्तुको अर्थ सम्प्रेषण गर्न, कुरा बुझ्न र बुझाउन बिनाआवाज मानिसका हात र टाउकाको विभिन्न अङ्ग वा भागको संयोजन र सञ्चालनबाट सृजित भई प्रयोग हुने दृश्य भाषालाई साङ्केतिक भाषा भनिन्छ । 

शब्द सङ्केतको निर्माण आधार

भाषालाई मानवीय गुण र व्यवहार अन्तर्गत हेरिने कारणले बहिरा समुदायसँग हरेक व्यवहार गर्न भाषिक सञ्चार गर्न साङ्केतिक भाषा अनिवार्य हुन्छ । बहिरा व्यक्तिले घरेलु वातावरणमा दैनिक जीवनयापन र विभिन्न सार्वजनिक कार्यालय र स्थानमा सिकाइ र अभिव्यक्त गर्न साङ्केतिक भाषा प्रयोग गरिरहेका हुन्छन् । यस भाषामा सूचना, विविध जाकारी, सिकाइ र अभिव्यक्तिका लागि लिखित भाषा, दृश्यमान सामग्री, वास्तविक वस्तु, चित्रात्मक सङ्केत पनि प्रयोगमा आउँछन् । कतै दोभाषेमार्फत भाषिक सहजता प्रदान गरेर बहिरा व्यक्तिले आफ्ना व्यवहार चलाउँछन् । ढुङ्गे युग र त्योभन्दा अगाडिको मानवले पक्कै पनि अविकसित प्राकृतिक आवाजयुक्त बोलीभाषामा र केही प्राकृतिक सङ्केतमा भाषालाई अपनाउँथे । वैदिककालदेखि नै वेदका मन्त्र सङ्केत उच्चारण गरी अर्थपूर्ण बनाइन्छ । नृत्यमा शारीरिक हाउभाउ र मुखमुद्राले अर्थपूर्ण भाव बोध गराउँछन् । हरेक व्यक्ति मौखिक कुराकानी गर्दा केही प्राकृतिक इसारा वा सङ्केत प्रयोग गर्छन् । यस्ता सङ्केत र हाउभाउ साङ्केतिक भाषाका आधार अवश्य हुन्छन् । साङ्केतिक भाषा बहिरा संस्कृतिका आधारमा हुर्किंदै र व्यवहार हुँदै आएको हुनाले यसलाई आधुनिक भाषाभन्दा फराकिलो जेठो र विशिष्ट छ । भाषा वैज्ञानिक हिसाबले यो कान्छो भाषा हो ।

बोली भाषामा उच्चारण अवयवहरूको स्थान (जिब्रो, दाँत, ओठ, तालु, कण्ठ, दन्तमूल, स्वरयन्त्र इत्यादि) को संयोजन भएर घोषत्व र प्राणत्वका आधारमा सूक्ष्म विचलन वा फरक आउँदा वर्ण हुँदै शब्द अर्थमा भिन्नता भए जस्तै साङ्केतिक भाषामा हातका औँला र औँलाहरूको खुम्च्याइ, घुमाइ, तन्काइ, फट्टाइ, हत्केलाको अगाडि वा पछाडि र धारपट्टिको भाग, हत्केलाको उत्तानो वा घोप्टे अवस्था, मुठी पारिएको र खोलिएको अवस्था, हात दायाँबायाँ तलमाथि फर्किएको, घुमाउरो, छड्के यी विविध अवस्थाभित्र एक मात्र हात वा दुई हातको संयुक्त संयोजनबाट फरक अर्थ बुझाउने हजारौँ साङ्केतिक शब्द एकाइ बन्छन् । बोली भाषामा जसरी मानव मुखबाट निस्कने अर्थपूर्ण ध्वनि आवश्यक हुन्छ । त्यसै गरी साङ्केतिक भाषामा हातसँग सम्बन्धित विभिन्न अवयवको संयोजनमा अर्थपूर्ण सङ्केत बन्नु आवश्यक हुन्छ । 

बोली भाषामा शब्द उच्चारणमा विभिन्न अक्षरको उच्चारणको संयोजनबाट पूर्ण शब्द भए जस्तै साङ्केतिक भाषामा औँला हिज्जेहरू, हात र हत्केलाका विभिन्न स्वरूप इत्यादिको संयोजन भई अर्थपूर्ण साङ्केतिक शब्द तथा वाक्य निर्माण हुन्छन् । नेपाली साङ्केतिक भाषा होस् वा विश्वका कुनै पनि देशका प्रचलित साङ्केतिक भाषा होऊन् त्यहाँ शब्द सङ्केत निर्माण, विकासका लागि प्राकृतिक सङ्केत, स्थानीय सांस्कृतिक पक्ष, अर्थपूर्ण हाउभाउ, प्रचलित शब्द सङ्केतसँगको सार्थक मेल, प्रचलित सङ्केत र चिह्न अनि औँला हिज्जेको अर्थपूर्ण प्रयोग साथै सैद्धान्तिक र व्यावहारिक कोणबाट शब्दको अर्थ बोध हुने सङ्केतलाई आधार बनाइएको हुन्छ । 

सन् १९६० मा साङ्केतिक भाषालाई भाषा विज्ञानको विषय बनाई अध्ययन थालिएको थियो । भाषा विज्ञानले भाषिक मान्यता दिएको हुनाले विश्वका प्राय सबै मुलुकमा यस भाषालाई पनि अन्य भाषा जस्तै वैधानिक मान्यता दिनु पर्छ भन्ने आवाज उठिरहेका छन् र काम पनि हुँदै गरेका छन् । यसलाई भाषाको एउटा रूप मानेर विस्तृत भाषिक अनुसन्धान गरिए पनि भाषाविद्ले आधुनिकतामा ढाल्न सकेका छैनन् । 

नेपाली साङ्केतिक भाषा 

संसारमा भाषाको मान्यता प्राप्त भइसकेका र हुन बाँकी सबै देशका सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिले प्रयोगमा ल्याएका सबै साङ्केतिक भाषाकै हाराहारीमा नेपालका बहिरा समुदायले स्थापित गरेको जुन साङ्केतिक भाषा छ, त्यसलाई नेपाली साङ्केतिक भाषा भनिन्छ । नेपाली भाषाको वर्णमालाकै आधारमा हस्त वर्णमाला भएको, नेपाली जननीवन, संस्कृति, दृश्यमान क्रियाकलाप र वस्तुस्थिति, स्थानीय विशेषता झल्काउने महत्वपूर्ण गुण वस्तु इत्यादिका आधारमा नेपाली वातावरणमा नेपालीपनसँग मिल्ने शब्द सङ्केत भएको भाषा नेपाली साङ्केतिक भाषा हो । साङ्केतिक भाषाबाट सञ्चार गर्ने सुनाइ सम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिलाई सञ्चार र सूचनामा पहुँच एवम् शिक्षाको विकासका लागि  नेपाली साङ्केतिक भाषाको विकास अति आवश्यक छ । 

साङ्केतिक भाषाको विकास र विस्तारबाट नै बहिरा नागरिकलाई विकासको मूल धारमा ल्याई व्यक्तिगत र सामाजिक व्यक्तित्व विकास गर्ने अवसर प्रदान गर्न सकिन्छ । नेपालको संविधान २०७२ को धारा ३२ मा आफ्नो मातृ भाषाको प्रयोग गर्नेसम्बन्धी हकको व्यस्था गरिए अनुसार सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति श्रवण शक्तिविहीन र साङ्केतिक भाषामा क्षमता राख्ने नागरिकहरूले विचार तथा भावनाको आदनप्रदानका साथै पठनपाठनको माध्यम भाषाका रूपमा यस भाषाको प्रयोग गर्ने र भाषिक अधिकार जमाउने गरेको छन् ।

अरू भाषामा जस्तै नेपाली साङ्केतिक भाषामा मौलिक र आगन्तुक साङ्केतिक शब्दको भण्डार हुने व्यवस्था छ । शब्दको साङ्केतिक स्वरूप निर्धारण गर्दा नेपाली भाषामा हुने शब्द निर्माण जस्तै सङ्केतहरूको समास वा सन्धि, औँला हिज्जेबाट प्रत्यय वा उपसर्ग लगाउने, सङ्केत दोहो¥याउने वा द्वित्व गर्ने इत्यादि प्रक्रlया अपनाइएको हुन्छ । नेपाली साङ्केतिक भाषामा वाक्य विन्यास वा सङ्कथन लेखन बोलीचालीको नेपाली भाषाको व्याकरणिक नियममा बाँधिएको हुँदैन । नेपाली भाषाको प्रायोगिक व्याकरण अनुसारको वा अन्य कुनै पनि भाषाको व्याकरणिक पद्धति यसमा खोजेर पाउन सकिँदैन । त्यस कारण सम्पूर्ण रूपमा साङ्केतिक भाषाको प्रयोग गर्ने व्यक्तिको लिखित भाषालाई नेपाली व्याकरणका आँखाबाट हेर्दा दुर्बोध्य, अशुद्ध, अपूर्ण र अलमलिएको जस्तो अभिव्यक्ति लाग्छ । अहिलेसम्म कामचलाउ रूपमा स्वतन्त्र प्रयोग हुँदै आएको नेपाली साङ्केतिक भाषाको व्याकरण खोज अनुसन्धान र निर्माणकै विषय भएको छ । 

साङ्केतिक भाषा शब्दकोश

कुनै पनि भाषाको समृद्धिमा त्यसको शब्द भण्डार र आधिकारिक मान्यताका लागि शब्दकोश लिपिबद्ध हुनु पर्छ । साङ्केतिक भाषाका शब्दकोशमा साङ्केतिक शब्दको सचित्र हातको स्थान, गति र आकार देखाउँदै लेख्य भाषामा पनि अर्थ लेखिएको हुन्छ । यस्ता शब्दकोशमा शब्द क्रम मिलाउँदा लेख्य भाषाको वर्णानुक्रम अनुसार वा सङ्केत गर्ने हस्त आकारलाई आधार मानेर आकारमा आधारित शब्दलाई क्रमशः व्यवस्थित राखेर पनि शब्दकोश निर्माण गरिन्छन् । पश्चिमी मुलुकमा बिसौँ शताब्दीको सुरुदेखि नै साङ्केतिक भाषाका शब्दकोश निर्माण हुन थालेका थिए । त्यसै क्रममा एसियाली देशमा यो क्रम सुरु भएको पाइन्छ । 

नेपालका सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा तथा सुस्तश्रवण व्यक्तिले साङ्केतिक भाषाको प्रयोग गर्दै आउने क्रममा विसं २०३७ ऐतिहासिक कोसेढुङ्गा साबित भएको छ । विसं २०३७ मा बहिरा व्यक्तिले आफ्नै नेतृत्वमा पहिलो पटक बहिरा कल्याणकारी संस्था (क्लब) स्थापना गरी त्यहाँ ती सचेत बहिरासँग अरू बहिरा युवा जमघट हुने वातावरण तयार गरेर आपसमा छलफल गर्दै नयाँ नयाँ शब्दको सङ्केत र नेपाली हस्त वर्णमाला बनाई आपसमा प्रयोग गर्न थाले । यसैको निरन्तरताको प्राप्तिका रूपमा २०४५ सालमा सुस्त श्रवण कल्याण संस्थाको प्रकाशन र सर्वाधिकार सुरक्षित हुने गरी नेपालमै पहिलो नेपाली साङ्केतिक भाषा शब्दकोश निर्माण भएको हो । 

विसं २०४५ (इसं १९८८) मा निर्माण भएको उक्त शब्दकोशले नेपाली साङ्केतिक भाषालाई आधिकारिक र व्यवस्थित गर्न थालेको हो र बहिरा विद्यालयमा पठनपाठनका लागि सोही शब्दकोशलाई आधार मानी माध्यम भाषाका रूपमा साङ्केतिक भाषा अपनाउन थालिएको हो । हाल करिब सात हजार शब्द साङ्केतीकरण गरी नेपाली साङ्केतिक भाषा शब्दकोशमा समाविष्ट गरिएका छन् । साङ्केतिक भाषाका विद्यार्थी, शिक्षक, दोभाषेहरूका लागि यस प्रकारक शब्दकोश अनिवार्य सिकाइ सामग्री हो । 

भाषाको परिवर्तनशील गुण हुन्छ र अन्य भाषामा जस्तै साङ्केतिक भाषामा पनि समय क्रममा परिवर्तन आइरहेका हुन्छन् । जस्तैः शब्द र अर्थको विकास, समाज र संस्कृति रूपान्तरणको प्रभाव, अपूर्ण प्रेषण र अपूर्ण अनुकरण, फरक सादृश्यता, अन्य भाषाको प्रभाव, शिक्षा, प्रविधि र विज्ञानले ल्याएको परिवर्तन र नयाँपनले पार्ने असर अनि भाषाभित्र ख्यालखेलाचीमा पाल्सी प्रयोग गर्ने बानी, स्थानीयतामा हुने प्रयोगको आंशिक असर इत्यादिले गर्दा साङ्केतिक भाषामा पनि सूक्ष्म रूपमा परिवर्तन क्रमशः आइरहेका हुन्छन् । यस विषयलाई साङ्केतिक भाषाका प्रयोक्ता र शब्दकोश निर्माताले विशेष ध्यान दिनु पर्छ ।

नेपाली युवाले ‘युनिभर्सल ह्यान्ड जेस्वर् डिकोडर’ जस्ता विद्युतीय उपकरण विकास गरेर साङ्केतिक भाषालाई शब्द र आवाजमा रूपान्तरण गर्न सक्ने बनाउँदै गरेका छन् । नेपालमा साङ्केतिक भाषाको प्रयोगमा बहिरा विद्यालय, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय, बहिरा सङ्घ संस्था, नेपाल सरकारका शिक्षा र सामाजिक विकास क्षेत्रका निकाय, कतिपय स्थानीय निकाय, निर्वाचन आयोग, नेपाल प्रहरी जस्ता संस्थामा पनि नेपाली साङ्केतिक भाषालाई चासो दिएर सिक्ने सिकाउने प्रबन्ध हुन थालेको छ । यसबाट नेपाली साङ्केतिक भाषाको पहुँच विस्तार हुँदै तीव्र विकासको गति लिने विश्वास छ ।