• ३ साउन २०८२, शनिबार

ताप्लेजुङमा ४८ करोड बजेट फ्रिज

blog

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङ । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ३ गते ।
ताप्लेजुङबाट गएको आर्थिक वर्षमा अठ्चालिस करोड रुपियाँ बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त रकम फ्रिज अर्थात सरकारको केन्द्रीय खातामा फिर्ता भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार ताप्लेजुङका विनियोजित चालु तथा पुँजीगत बजेटबाट कुल ४८ करोड छ लाख ५८ हजार १३६ रुपियाँ रकम खर्च हुन नसकी फ्रिज भएको हो । फ्रिज भएको रकममध्ये सङ्घतर्फको चालु र पुँजीगत दुवै बजेटबाट ३९ करोड ४८ लाख ७० हजार ६८४ रुपियाँ रहेको छ । बाँकी प्रदेशतर्फको बजेटबाट आठ करोड ५७ लाख ८७ हजार ४५२ रुपियाँ फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सहलेखापाल नवीन खनालका अनुसार संघीय सरकारबाट गत आवमा पाँच अर्व सात करोड ६३ लाख ३७ हजार ५९७ रुपियाँ बजेट विनियोजन भएको थियो । उक्त कुल बजेटमध्ये चालुतर्फ चार अर्व ३४ करोड ५७ लाख एक हजार ५९७ र पुँजीगत बजेट ७३ करोड छ लाख ३६ हजार रुपियाँ रहेको सहलेखापाल खनालले जानकारी दिनुभयो ।

यस्तै जिल्लाका लागि प्रदेश सरकारबाट चालु र पुँजीगत गरी कुल ५८ करोड २० लाख २४ हजार ६९४ रुपियाँ विनियोजन भएको थियो । सहलेखापाल खनालका अनुसार गत आवमा प्रदेशबाट विनियोजित चालु बजेट ४५ करोड ३९ लाख ३० हजार सात रुपियाँमध्ये आठ करोड २४ लाख ५८ हजार ६२८ रुपियाँ फ्रिज भएको हो । पुँजीगत बजेट १२ करोड ८० लाख ९४ हजार ६८७ रुपियाँमध्ये ३३ लाख २८ हजार ८२४ रुपियाँ खर्च नभई फ्रिज भएको छ ।

यता जिल्लाका लागि विनियोजित रकम खर्चको अवस्था भने पुँजीगत बजेट असार महिनामा अधिकतम् खर्च भएको छ । सङ्घतर्फ कुल पुँजीगत बजेटको ३६.८८ प्रतिशत रकम असार महिनामा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद थापाले जानकारी दिनुभयो । थापाका अनुसार प्रदेशतर्फ पनि पुँजीगत बजेटको ४५.८१ प्रतिशत असार महिनामा मात्र खर्च भएको छ ।