• ३ साउन २०८२, शनिबार

एभरेस्ट महिला भलिबलमा खेलाडीको ‘अक्सन’

blog

एभरेस्ट महिला भलिबल लिग ‘अक्सन’ मा सहभागी लुम्बिनी लाभाजको टोली । तस्बिर : विकास द्वारे

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ३ गते  । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा प्रतिस्पर्धा गर्ने छ वटा टोलीले बोलकबोल (अक्सन) मार्फत खेलाडी भित्र्याएका छन् । मार्कीसहित छ टोलीले ए, बी र सी मा रहेका ४८ खेलाडी भित्र्याएका छन् । काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा काठमाडौँ स्पाइकर्स, लुम्बिनी लाभाज, ललितपुर क्विन्स, कर्णाली यशविस, पोखरा निन्जाज, मधेश युनाइटेडले ‘ए’ समूहमा मार्कीसहित सात जना खेलाडी बोलकबोलमार्फत भित्र्याएका छन् । 

समूह ‘ए’ मा रहेका सात खेलाडीमध्ये छ खेलाडी शुक्रबार अनुबन्ध भएका छन् । समूह ‘ए’ मा रहने खेलाडीको न्यूनतम मूल्य एक लाख १५ हजार र उच्चतम मूल्य एक लाख ३२ हजार पाँच सय रुपियाँ तोकिएको थियो । यसै गरी चार खेलाडी लक्की ड्रमार्फत र एक जना सिङ्गल ‘बिड’ मै अनुबन्ध भएका छन् । 

लक्की ड्रमार्फत कामना विष्ट लुम्बिनीमा र सङ्गम महतो ललितपुरमा अनुबन्ध हुनुभयो । यसै गरी पुनम चन्दलाई पोखरा निन्जाजले भित्र्यायो । सबै जना एक लाख ३२ हजार पाँच सयमा अनुबन्ध हुनुभयो । सफिया पुन लक्की ड्रबाट कर्णाली यशविसमा अनुबन्ध हुँदा कविता भट्टलाई काठमाडौँ स्पाइकर्सले सिङ्गल बिडमै किन्यो । यसै गरी समूह ‘बी’ का लागि न्यूनतम रकम एक लाख र र अधिकतम मूल्य एक लाख १५ हजार तोकिएको थियो । समूह ‘सी’ का लागि न्यूनतम ५० हजार र अधिकतम ५७ हजार पाँच सय रुपियाँ तोकिएको थियो । यसै गरी कार्यक्रममा एभरेस्ट महिला भलिबल लिगको ट्रफी पनि सार्वजनिक गरिएको थियो ।

मधेश युनाइटेड

निरुता ठगुन्ना (मार्की), आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट, बबिता बोहोरा, वसन्ती साउद र स्नेहा ठगुन्ना ।

कर्णाली यशविस 

सुमित्रा रेग्मी (मार्की), सफिया पुन, रश्मित दुरा, जस्ना महतो, पूजा थारू, नेबिका चौधरी, रेबिका लामा तमू र एलिशा भोजू ।

पोखरा निन्जाज

प्रगति नाथ (मार्की), पुनम चन्द, मीना सुनार, सुनिता खत्री, गरिमा बोहोरा, एन्जिला प्रधान, निशा महर र भावना तामाङ ।  

ललितपुर क्विन्स

सलिना श्रेष्ठ (मार्की), सङ्गम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगी । 

काठमाडौँ स्पाइकर्स

उषा भण्डारी (मार्की), कविता भट्ट, मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन र आशिका क्षेत्री । 

लुम्बिनी लाभाज

अरुणा शाही (मार्की), कामना विष्ट, एलिशा मानन्धर, शान्तिकला तामाङ, जेनिशा विक, रोमा महतो, रञ्जना भोटे र अनुशा चौधरी ।