विनय कर्ण
कल्याणपुर (सप्तरी), जेठ २७ गते । राजविराज नगरपालिकामा तीन दिनदेखि लगाइएको ताला फुटाएर निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादवलाई मङ्गलबार पदभार ग्रहण गराइएको छ ।
कार्यवाहक नगर प्रमुख इससरत परवीन सहितका जनप्रतिनिधिहरूले नगरपालिकामा लगाइएको ताला फुटाउँदै कार्यालयमा प्रवेश गरि तनावकाबी यादवको पदभार ग्रहण गराउनुभएको हो ।
निलम्बित नगर प्रमुख भीमराज यादवसहित उहाँका समर्थकहरूले प्रमुख यसअघिका प्रमुख प्रशासकीय अधिकृतको डा.श्रवण साहको सरुवाको विषयलाई लिएर आइतबार ९ बुँदे मागअघि सार्दै लगाइएको ताला फुटाएर कार्यवाहक नगर प्रमुख परवीन सहितका जनप्रतिनिधिहरूले कार्यालय प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनले यसअघिका प्रमुख प्रशासकीय अधिकृत साहको सरुवा गर्दै नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो। त्यही विषयलाई लिएर कार्यवाहक नगरप्रमुख परवीन र निलम्बित नगर प्रमुख यादवबिच विवाद चुलिएको थियो ।
कार्यवाहक नगर प्रमुख परवीन विधीको शासन लागु गर्न मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्ने पक्षमा र निलम्बित नगर प्रमुख यादव सोको विरोध गर्दै डा.साहलाई नै सो जिम्मेवारीमा राख्नुपर्ने अडान लिएपछि दुवै पक्षबिच सहमति नहुँदा नगरपालिका परिसर तनावग्रत बनेको हो ।
प्रमुख प्रशासकीय अधिकृत यादव पदभार ग्रहण गरिरहँदा प्रदर्शनमा उत्रिएका निलम्बित नगरप्रमुख यादव समर्थकहरूको कुटाईबाट नगरपालिकाको लेखापाल शत्रुघन दास र सामाजिक अभियन्ता कमलकिशोर साह घाइते भएका छन् । उनीहरुको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीले ढुङ्गामुढा गर्दा कार्यालयका झ्याल ढोकाको सिसा, तीन वटा मोटरसाईकल, कार्यवाहक मेयर चढने गाडीको सिसा र कार्यालय प्रांगनमा जडान रहेको दुईवटा सिसि क्यामरा फुटाई दिएको कार्यवाहक नगर प्रमुख परवीनले बताउनुभयो ।
नगरपालिकाबाट सहज रुपमा सेवा प्रदान गर्नका लागि ताला खोलिदिन पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेको र छलफलमा पनि निलम्बित मेयर भीमराजको एकलौटी अडान लिएका कारण निकास निस्किने सम्भावना नदेखेपछि नगरवासी र प्रशासनको सहयोगमा ताला फोड्न बाध्य भएको उहाँको भनाइ छ । कार्यवाहक प्रमुख परवीनको साथमा करीव आधा दर्जन वडाध्यक्ष, कार्यपालिका सदस्य, केही वडा सदस्य तथा नागरिक अगुवा सहितको सहभागिता थियो ।
आम नगरवासीलाई सत्यको पक्षमा खुलेर लाग्न गर्दै भ्रष्टाचार आरोपमा अदालतबाट समेत दोषी ठहर भई सकेका व्यक्तिबाट बिगत तीन वर्ष देखि नगरपालिकाको हरेक कामकाजमा यसरी हस्तक्षेप हुनु दुखद भएको कार्यवाहक नगर प्रमुख परवीनले बताउनुभयो । उहाँले कुटपीट र तोडफोडमा सहभागी भएकाहरूलाई अविलम्ब पक्राउ गरि कारवाहीको समेत माग गर्नुभयो ।
यसै विषयलाई लिएर दुबैपक्ष सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफलमा बसेपनि ताला खोलेर प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराउने सन्दर्भमा कुनै ठोस निष्कर्ष निस्कन सकेको थिएन । स्थिति तनावपूर्ण भएपछि राजविराज नगरपालिकामा ठुलो संङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
यसअघि निलम्बित नगर प्रमुख यादवले नगर क्षेत्रमा भएको सिसिटिभी क्यामेरा जडान प्रकरणमा छानबिन, नगरको ६८ विगहा क्षेत्रमा ब्लक र विटौरी जग्गामा बसोवास गर्दै आएको ५ हजार भन्दा बढी लालपुर्जाबाट वञ्चित परिवारलाई लालपुर्जा प्रदान, हटिया बजारको व्यवस्थापन, नगरका जीर्ण सडक र नालाको मर्मत सम्भार, लामखुट्टे विरुद्धको औषधी छर्किने व्यवस्था लगायतका माग अघि सार्दै कार्यालयमा तालाबन्दी गरि धर्ना सुरु गर्नुभएको थियो ।
आर्थिक वर्ष २०७३-७४ मा राजरङ्गशालाको स्तरोन्ती कार्यको ठेक्का लिएका न्यू गहिल कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका भीमराज यादवसहित केही निर्माण कम्पनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि निलम्बित भएका उहाँलाई विशेष अदालतले सफाई नदिएपछि सर्वोच्चमा पुनराववेदन गर्नु भएका उहाँको मुद्दा विचाराधिन अवस्थामा छ ।
यता निलम्बित नगर प्रमुख पक्षले अहिले पनि नगरपालिकाको गेटमा धर्नामा बसेका छन् भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।