काठमाडौँ, जेठ २७ गते । नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनाा १३औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिप मङ्गलबार सुरु भएको छ ।
सातदोबाटोस्थिति नेपाल स्क्वास सङ्घको एकेडमी हलमा भएको पहिलो दिन पुरुषतर्फको टिभ इभेन्टमा बागमती प्रदेशले दोहोरो जित हासिल गरेको छ । बागमतीले कर्णाली प्रदेश र कोशी प्रदेशलाई सहजै हराएको हो ।
कर्णाली प्रदेशविरुद्धको खेलमा बागमतीका अरहन्त के सिम्ह र पासाङ ब्लोनले सहजै खेल जित्नुभयो । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्तले जलन जिसीलाई ११–२रु ११–७ र ११–७ तथा पाासङले हिमाल जिसीलाई ११–०, ११–३ र ११–० ले हराउनुभयो ।
कोशी प्रदेशविरुद्ध पनि बागमतीका तीन खेलाडीले सोझो सेटमा जित हासिल गरे । राकेश परियारले खेमराज राईलाई ११–२, ११–९ र ११४, अरहन्तले नयनबहादुर मगरलाई ११–६, ११–३ र ११–३ तथा पासाङले सुर्यकुमार राईलाई ११–६, ११–५ र ११–४ ले पराजत गर्नुभयो ।
यसैगरी लुम्बिनी प्रदेशले पनि गण्डकी प्रदेशलाई ३–२ ले हराएर विजयी सुरुआत गर्यो । पहिलो खेलमा सुदीपबहादुर सिंहले गण्डकीका आभन श्रेष्ठलाई ११–८, ७–११, १४–१२ र ११–९ ले हराएर लुम्बिनीलाई अग्रता दिलाउनुभएको थियो ।
दोस्रो खेलमा गौरव कटवालले गण्डकीका राजु श्रेष्ठलाई इ११–९, १३–११ र ११–३ ले पराजित गरी लुम्बिनीलाई जित दिलाउनुभयो ।
तेस्रो खेलमा नवराज श्रेष्ठले लुम्बिनीका ज्ञानु चौधरीलाई प्रतिस्पर्धात्मक खेलमा ११–६, ११–३, ४–११, ५–११ र ११–५ ले हराएपछि गण्डकीले सान्त्वना जित प्राप्त गरेको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ६ प्रदेशको सहभागिता रहनेछ । सहभागी प्रदेशलाई दुई समूहमा विभाजन गरिएको छ । पुल एमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश तथा पुल बीमा बागमती प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।
लिग कम नकआउटको आधारमा प्रतियोगिता हुनेछ । हरेक पुलबाट शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् । टिम इभेन्टमा हरेक टिममा चार खेलाडी रहेका छन् ।
महिला टिम इभेन्ट्समा बागमती, गण्डकी, कर्णाली र कोशी गरी चार प्रदेशले भाग लिएको छ । महिला टिम इभेन्ट्समा लिग चरणमा शीर्ष स्थानमा रहेको टिम च्याम्पियन बन्नेछ ।