• ८ जेठ २०८२, बिहिबार

निजीमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको भिड

blog

बागलुङ नगरपालिका वडा नम्बर १४ नारायण स्थानमा रहेको गणेश माध्यमिक विद्यालयमा लाइन लगाएका विद्यार्थी । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), जेठ ८ गते ।
पढाईमा अब्बलतासँगै चर्चित छ, गणेश माध्यामिक विद्यालय । अन्यत्रका धेरै सामुदायिक विद्यालय खाली हुँदै गर्दा यहाँ भने विद्यार्थीको भिड देखिन्छ ।

जिल्लाको बागलुङ नगरपालिका वडा न. १४ नारायणस्थानमा रहेको यस विद्यालयमा २७२ छात्रा र ४१८ छात्र गरी ६९० जना विद्यार्थी अध्ययनरत छन् । यहाँ काश्की, कुश्मा, फलेबास, ढोरपाटन, जैमिनीलगायतका विभिन्न ठाउँबाट विद्यार्थीहरू अध्ययनका लागि आउछन् ।

कास्कीबाट अध्ययनका लागि यहाँ आउनुभएको युनिपा अधिकारीले शिक्षकहरू सिकाउन सदैब तत्पर रहने हुँदा सिकाइ प्रभावकारी भएको बताउनुभयो । गुणस्तरीय पढाई हुने भएकाले अन्यत्रबाट विद्यार्थी यहाँ आउने गरेका छन् ।

यसैगरी, कक्षा १० मा अध्ययनरत सदिक्षा सुनारले यहाँको वातावरणसँगै अतिरिक्त क्रियाकलाप मन पर्ने बताउनुहुन्छ । यहाँको पढाई गुणस्तरीय भएको उहाँ बताउनुहुन्छ ।

यहाँ नयाँ र पूराना विद्यार्थीबिच विभेद नहुने विद्यार्थीको बुझाइ छ । यहाँ छात्राबासको राम्रो सुविधा भएकाले बलेवा क्षेत्र बाहेकबाट पनि पढ्न आउने गर्दछन् । यस क्षेत्र वरपरका विद्यार्थीका लागि यातायात सुविधा छ ।

यस विद्यालय राम्रो छात्रवास, पोषणयुक्त खाना र पढाईसँगै विद्यार्थीको स्वास्थ्य पनि महत्त्वपूर्ण विषय हो । त्यसैले यहाँ एक जना विद्यालय नर्स पनि व्यवस्था गरिएको छ । जसले विद्यार्थीलाई चोटपटक लाग्दा प्रथामिक उपचार गर्नुका साथै अन्य स्वास्थ्य समस्या देखिएमा थप उपचारका लागि पहल गरिन्छ ।

विद्यालय नर्स कविता सुवेदीले विद्यालयमा विद्यार्थी बिरामी पर्दा प्राथमिक उपचारको व्यवस्था रहेको बताउनुभयो । उहाँले विद्यालयमा स्वास्थ्य सचेतनामुलक कार्यक्रम पनि गर्दै आएको बताउनुभयो ।

यहाँ बालमैत्री स्थानीय शासनको धारणा बमोजिम सिकाइ गराइन्छ । विद्यालयका प्रावि इन्चार्ज काशीराम कँडेल बालबालिकाको गुणस्तरीय सिकाइलाई निरन्तर लागेको बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासनको धारणा बमोजिम सिकाइ गरिने जानकारी दिनुभयो ।

विद्यालय अब्बल बन्नुमा अभिभावकको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने गर्दछ । यस क्षेत्रका अभिभावकले महत्त्वपूर्ण भूमिका निभाएकै कारण विद्यालयले निरन्तर उचाई हाँसिल गरिरहेको छ ।

अभिभावक विद्यार्थी सङ्घका अध्यक्ष भरत सुवेदीले विद्यालय र अभिभावकबिच घनिष्ट सम्बन्धका कारण पनि विद्यालय अब्बलता हाँसिल गर्न सफल भएको बताउनुभयो ।

‘‘अभिभावकहरूले पनि निकै चासो दिएर हेर्नुहुन्छ, विद्यालयसँग गहिरो सम्बन्ध छ ।’’ उहाँले भन्नुभयो, ‘‘‘यहि कारण अन्य विद्यालय खाली हुँदै गर्दा यहाँ भरिभराउ छ ।’’

धेरै ठाउँमा सामुदायिक विद्यालयको खस्कदो अवस्था देखेर निराश बनिरहेको समुदायलाई यस विद्यालयले भने आशा भरिरहेको छ । निजीभन्दा अब्बल प्रमाणित गरेकै कारण यहाँ निजी विद्यालय छोडेर आउने विद्यार्थी पनि रहेका छन् ।

वि.सं. २०३७ सालमा स्थापना भएको यस विद्यालयलाई यहाँसम्म ल्याइपुर्‍याउन थुप्रै व्यक्तित्वको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । यहाँ अनावश्यक राजनीति नहुने भएकै कारण विद्यालय अब्बल बन्न सफल भएको बुझाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द शर्माले संस्थापकहरूको स्मरण गर्दै विद्यालय लाहुरेहरूले खोलेको बताउनुभयो । उहाँले विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै भए पनि दरबन्दी भने न्यून छ । विद्यार्थीको सङ्ख्या अनुसार दरबन्दी मिलान गर्नुपर्ने उहाँको भनाइ छ ।

विद्यार्थीको सिकाइका लागि विद्यालयले विभिन्न केही नयाँ भौतिक संरचनाहरू पनि निर्माण गराइराखेको छ भने विद्यार्थीको सिकाइलाई गुणस्तरीय बनाउन साइन्स ल्याब, म्याथ ल्याब साथै अतिरिक्ति क्रियाकलापलाई निरन्तरता भएका कारण खेलकुदमा पनि अब्बल ठहरिँदै आएको छ । 

विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले आफुहरू देशभरकै अब्बल विद्यालय मध्येमा पर्ने बताउनुभयो । ‘‘यहाँ शिक्षकहरू निरन्तर खटिरहनु हुन्छ, अभिभावकले पनि उत्तिकै चासो दिनु हुन्छ, कुनै विषयमा विद्यार्थीको नतिजा कमजोर आयो भने अभिभावकसँग छलफल हुन्छ ।’’ रिजालले भन्नुभयो, ‘‘त्यही कारण हामी राम्रो नतिजा निकाल्न सफल भएका छौँ ।’’ विद्यालयमा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुन्छ ।