• ८ जेठ २०८२, बिहिबार

खोलाको धमिलो पानी खान बाध्य तिल गाउँका स्थानीय

blog

नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँमा बाढी पहिरो आएपछि स्थानीयवासी खोलाको धमिलो पानी ओसार्दै । तस्बिर : नन्द सिंह

नन्द सिंह
(रलिङ) हुम्ला, जेठ ८ गते ।
नाम्खा गाउँपालिका–६ तिल गाउँका स्थानीय बासिन्दा खोलाको धमिलो पानी खान बाध्य भएका छन् । जेठ १ गते आएको बाढीले खानेपानी, घर, पुल, सिँचाइ र जलविद्युत् आयोजना क्षति पुर्‍याउनुका साथै १८ परिवार घर छोडेर खुला आकाश मुनिको त्रिपालमुनि बस्न बाध्य भएका हुन् ।

गाउँभन्दा माथिको हिमताल भासिएर लेदोसहितको बाढीले खानेपानीको संरचनामा समेत क्षति पुर्‍याएपछि स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएका छन् ।

गाउँमा खानेपानीको पाइप र धारा नै बाढीले बगाएपछि एक हप्तादेखि गाउँ नजिकैको गुनछुसा खोलाको धमिलो पानी खान बाध्य भएको नाम्खा गाउँपालिका– ६ तिल गाउँका स्थानीय कन्जोक फुर्व लामाले गुनासो गर्नुभयो ।

‘‘कतिबेला धमिलो पानी आउँछ, कतिबेला सफा आउँछ,’’ लामाले भन्नुभयो, ‘‘पानी त खानै पर्‍यो ।’’ झण्डै एक सातादेखि खोलाको धमिलो पानी खान बाध्य भएको अर्का स्थानीय सोनाम साङमु लामाले बताउनुभयो । धमिलो खानेपानीका कारण गाउँका बासिन्दा बिरामी हुने चिन्ता भएको लामाको भनाइ छ ।

हुम्लाको तिलगाउँमा जेठ १ गते राति एक्कासी आएको बाढी र पहिरोले स्थानीयका घर, पुल, लघु जलविद्युत् आयोजना र खानेपानी, उवा र आलु खेतीलगायतका संरचनामा क्षति पुगेको छ । बस्ती जोखिममा परेपछि तिलगाउँका १८ परिवार घर छाडेर असुरक्षित रूपमा त्रिपालमुनि बस्नु पर्ने बाध्यता छ ।

तिल गाउँमा खानेपानी मर्मतका लागि पाइप पठाउन सहयोग गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ ई. दिनेश भट्टले बताउनुभयो । तर पनि हाल तिल गाउँका स्थानीय नागरिकले खोलाको धमिलो पानी प्युनुपर्ने बाध्यता छ ।