शशिधर पराजुली
विराटनगर, वैशाख २४ गते । कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार विज्ञप्ति जारी गरी जेठ ४ गते आइतबार दिउँसो २ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो ।
कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सभाको वर्खे (सातौँ) अधिवेशन जेठ ४ गते २ बजे बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय पनि गरेको छ । यस्तै कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता रेवतिरमण भण्डारीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद बैठकले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२ स्वीकृत गर्ने र वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।