• १७ वैशाख २०८२, बुधबार

विद्यालयमा विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालन गरिने

blog

बिन्दु थापा 

पाल्पा, वैशाख १७ गते । तानसेन नगरपालिका-३ स्थित पद्य पब्लिक माध्यमिक विद्यालयमा आधारित बिपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि तानसेन नगरपालिका, डिजास्टर एजुकेसन प्रोमोसन अफिस र सिटिनेट प्लस आर्टस् सेन्टर फर क्रियटिभ पार्टनरसिप्स डिजाइन एन्ड क्रियटिभ सेन्टर कोवे, जापानबिच त्रिपक्षीय सम्झौता भएको हो । 

सम्झौतामा नगरपालिकाको तर्फबाट सन्तोषलाल श्रेष्ठ, प्रोमोसन अफिसका तर्फबाट अध्यक्ष दीपक मरहठ्ठा र क्रियटिभ सेन्टरका तर्फबाट कार्यकारी निर्देशक केन्द्र हिराटाले हस्ताक्षर गर्नुभएको छ । 

स्रोत केन्द्र सञ्चालनका लागि तानसेन नगरपालिकाले विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालन निर्देशिका तयार गरेको छ । स्रोत केन्द्रको लक्ष्य र उद्देश्य प्राप्तिका लागि तीन वटै पक्षले आवश्यकता अनुसार एक आपसमा समन्वय र सहकार्य गर्दै आ–आफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्ने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । 

हस्ताक्षर गरे पस्चात् स्रोत केन्द्र सञ्चालनका लागि तीनै पक्षको प्रतिनिधिहरूको उपस्थितिमा ३० दिन भित्र एउटा कार्य योजना बनाइने छ । कार्ययोजनामा उल्लेखित क्रियाकलापहरू तोकिएको समयावधी भित्र सम्पन्न गरिने उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले सम्झौतामा भएका कुराहरू कार्यान्वयन गर्दै प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो ।