काठमाडौं, मङ्सिर १५ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले बिआरआईमा नेपाली कांग्रेस र नेकपा एमालेबिच फरक मत नरहेको बताउनुभयो ।
अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै उहाँले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले कुनै योजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भएपनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेको बताउनुभयो । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस–एमालेले संयुक्त रूपमा नै एजेन्डा तयार गरेको पनि उहाँले बताउनुभयो । यसअघि चीनले दिने घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्ने पनि उहाँका भनाइ थियो ।
त्यस्तै, उहाँले सरकार ढल्छ भनेर अफवाह फैलाइए पनि त्यसमा सत्यता नरहेको दाबी गर्नुभयो । ‘‘कांग्रेस सभापति शेरबहादुर देउवा बोलीमा इमानदार हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा छ । प्रधानमन्त्रीजीले सहमति अनुसार हस्तान्तरण हुने बताइरहनुभएको छ । सरकारमा समस्या छैन ।’’उहाँले भन्नुभयो