• १५ मंसिर २०८१, शनिबार

गलेश्वरमा दर्शनार्थीको भिड

blog

गलेश्वरधाममा दिवङ्गत पितृका लागि सतविज छर्नेहरूको भिड । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, मंसिर १५ गते । हिमाली जिल्ला म्याग्दीको पवित्र तीर्थस्थल गलेश्वरधाममा आफ्ना दिवङ्गत पितृहरूको नाउँमा सतबिज छर्नेको बिहानैदेखि भिड लागेको छ ।

गलेश्वर शिवालय मन्दिरमा पूजाअर्चना गर्नुका साथै सतविज छर्नेहरू बिहान ४ बजेदेखि नै आइपुग्नु भएको मन्दिरका पुजारी चन्द्रमणी आचार्यको भनाइ छ । विश्वका पवित्र धामहरूमध्ये निकै फरक र आस्थाको केन्द्र रहेको गलेश्वरमा सतविज छर्नाले आफ्ना पितृहरूको उद्धार हुने जनविश्वाससहित दर्शन र पूजाअर्चनाका लागि आउने गरेको उहाँले बताउनुभयो । 

आठ रोपनी क्षेत्रफलको एउटै चक्र शिलामा स्वयं उत्पन्न ज्योतिर्लिङ्ग भएको कारणले पनि गलेश्वरधाम अन्य धामभन्दा फरक रहेको उहाँको तर्क छ । सुर्के मेलाबाट दर्शनका लागि पुग्नु भएका शशीधर सापकोटा आफ्ना पितृहरूको उद्धार हुने जनविश्वाससहित सतबिज छर्न आइपुगेको बताउनुभयो । 

बिहानै हिँडेरै मन्दिर पुगेको र दर्शन गर्नुका साथै सतबिज छरेर फर्केको उहाँको भनाइ छ । गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहुँ, गुल्मी तथा रुपन्देहीसम्मका दर्शनार्थीले पनि हालसम्म दर्शन गरेर फर्किसकेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । 


उहाँका अनुसार मन्दिरमा पूजाअर्चनाका लागि आउने दर्शनार्थीको सुरक्षाका लागि क्षेत्र विकास कोषका साथै सुरक्षा निकाय तथा विद्यार्थी एवम् स्थानीय क्लबबाट स्वयंसेवक खटाउने काम भएको छ ।

बिहानदेखि आउने दर्शनार्थीको चाप हेर्दा दिनभरमा सबै गरेर ५० हजारभन्दा धेरै दर्शनार्थी आउने आङ्कलन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।