• १५ मंसिर २०८१, शनिबार

शैलुङको आलु चिनाउन ब्रान्डिङ

blog

शैलुङको आलु लेखिएका बोरा र झोला ।

दोलखा समाचारदाता 

दोलखा, असार ३० गते । भ्रमबाट मुडेको आलु भनेर चिनिएको दोलखाको शैलुङको आलुलाई चिनाउन ब्रान्डिङ गर्न लागिएको छ । 

काठमाडौँमा पुग्ने शैलुङको प्रख्यात आलुलाई चिनाउन ब्रान्डिङ गर्न लागिएको वडा नं. ८ का वडाध्यक्ष धनबहादुर तमाङले जानकारी दिनुभयो । 

उहाँका अनुसार सर्वत्र वैभव, सभ्यता र स्वाभिमान, जलजलको पौरख शैलुङको निर्माण मूल नाराका साथ उत्पादित आलुलाई गुणस्तरसहित प्याकेज गरी बिक्रीवितरण गर्न लागिएको हो । आलु नै नहुने मुडेलाई शैलुङको आलुले चिनाएको छ । अब शैलुङको आलु हो भनेर चिनाउन प्याकिङ गरेर बिक्रीवितरण गर्न लागिएको हो । 

ब्रान्डिङ शैलुङको उत्पादित आलु अब ५० किलोको बोरा, ५–१० किलोको झोलामा राखेर मात्र बिक्री गर्न पाइने व्यवस्था मिलाइएको छ । वडाध्यक्ष धनबहादुर तमाङले भन्नुभयो, “किसानलाई घाटा गराउने र आफू मोटाउने बिचौलियालाई भने प्याकिङ आलु नदिने व्यवस्था मिलाइएको छ । यसका लागि स्थानीय एकीकृत शैलुङ सहकारी संस्थाबाट मात्र ब्रान्डिङ आलु वितरण गरिने छ । यसो गर्दा किसानले उचित मूल्य पाउने र शैलुङको आलु हो भनेर चिनाउन सकिने छ ।” 

वडाले बोरा र झोला साथै किसानले आलु सहकारीलाई दिने सहकारीले बजारीकरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “अहिले आलु राम्ररी नसुकेकाले साउनको दोस्रो सातादेखि प्याकिङ गरी बिव्रmीवितरण गरिने छ । वडा नं. ८ मा मात्र एक हजार पाँच सय घरधुरीले आलु खेती गर्ने गरेका छन् । कम्ती बेच्नेले पनि दुई लाख र बढीमा १५ लाख रुपियाँसम्मको आलु बेच्ने गर्छन् । करिब १० करोड रुपियाँ बराबरको आलु बाहिर जाने गरेको छ ।” 

पालिकाको १, २, ३ र ६ वडाको माथिल्लो भागमा पनि आलु खेती गरिन्छ । यी सबै वडाको मिलाउँदा ८ नम्बर बराबरको आलु उत्पादन हुन्छ । अन्न खेती नहुने हुनाले आलु खेतीपछि काउली, बन्दालगायतका तरकारी खेती गर्ने गरिएको उहाँले बताउनुभयो । उत्पादित आलु र तरकारी बजारसम्म पु-याउन प्रत्येक टोल टोलमा सडक विस्तार गरिएको उहाँले बताउनुभयो ।