केदार तिमल्सिना
बनेपा, असार ३० गते । काभ्रेपलाञ्चोक जिल्लामा स्तरोन्नति सुरु गरिएका सडकको कामले गति नलिँदा नागरिकले सास्ती बेहोर्नु परेको छ । सडक निर्माणको ठेक्का पाएका निर्माण व्यवसायीले समयमा नै काम नगर्दा केही दिनदेखि परेको अविरल वर्षासँगै निर्माणाधीन अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड र भकुन्डे–तेमाल–मेच्छे सडकखण्डको यात्रा कष्टकर बनेको हो ।
सडक डिभिजन कार्यालय भक्तपुर र गौरीपार्वती निर्माण सेवा काठमाडौँबिच २२ महिना अर्थात् गत चैत १९ गतेभित्र सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी २०७९ जेठ २० गते निर्माण कम्पनीसँग सम्झौता भएको धुलिखेल–खावा सडकमा म्याद सकिएको तीन महिना बितिसक्दासमेत ५० प्रतिशत पनि काम हुन सकेको छैन । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिडिई मेघराज मरासिनीले धुलिखेल–खावा सडकखण्ड निर्माणको जिम्मा पाएको कम्पनीले काममा तदारुकता नदिँदा म्याद सकिएको तीन महिना बितिसक्दासम्म करिब ४५ प्रतिशत मात्रै काम गरेको बताउनुभयो । उहाँले उक्त सडकखण्डमा निर्माण कम्पनीले हालसम्म धुलिखेलदेखि पकुचासम्मको दुई किलोमिटर सडकको कटिङ, नाली बनाउने, सबबेस र बेस गर्ने काम सकेर कालोपत्रे गर्ने अवस्थामा पु¥याए पनि वर्षाका कारण कालोपत्रे हुन नसकेको बताउनुभयो ।
सिडिई मरासिनीले धुलिखेल–खावा सडकको निर्माण कम्पनीको काममा चित्त नबुझेकाले म्याद थप गर्ने कुनै आधार नभएका कारण म्याद थपसमेत नगरिएको बताउनुभयो । धुलिखेल–खावा सडक स्तरोन्नतिका लागि कम्पनीसँग भ्याटसहित २० करोड १९ लाख रुपियाँमा सम्झौता भएकामा निर्माण व्यवसायीले हालसम्म मोबिलाइसेनबापत एक करोड ७६ लाख र काम गरेको बिलको भुक्तानीबापत एक करोड ४६ लाख गरी हालसम्म तीन करोड २२ लाख रुपियाँ भुक्तानी लिएको सडक डिभिजन कार्यालयले जनाएको छ । निर्माण व्यवसायीले तीन करोड तीन लाख रुपियाँको बिल पेस गरे पनि भुक्तानी भने गरिएको छैन । वर्षाका कारण अरनिको राजमार्गको धुलिखेलदेखि खावासम्मको सडकमा क्षति पुगेपछि गत बुधबारदेखि उक्त खण्डमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
यसैबिच दुई वर्षभित्र सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी सम्झौता भएको भकुन्डे–तेमाल–मेच्छे सडकखण्डको ठेक्काको म्याद सकिन १७ दिन बाँकी हुँदा करिब २५ प्रतिशत मात्रै काम भएको छ । आगामी साउन १५ भित्र सडक निर्माणको काम सम्पन्न गर्ने गरी २०७९ साउन १६ गते सडक डिभिजन र केएस÷देवी रमन–तेज जेभीबिच ठेक्का सम्झौता भएको थियो । डिभिजन सडक कार्यालय भक्तपुरकी इन्जिनियर विन्दु अधिकारीले भकुन्डे–मेच्छ सडकखण्डमा हालसम्म करिब २५ प्रतिशत मात्रै काम भएको भन्दै विविध समस्या देखाउँदै निर्माण व्यवसायीले काम नगरेको कारण सडकको काममा ढिलाइ भएको बताउनुभयो । निर्माण कम्पनीले नमोबुद्ध नगरपालिका–४, भकुन्डेदेखि वडा नं. ५ को डुँडेपौवासम्मको पहिलो खण्डमा सात किलोमिटर र तेमाल गाउँपालिका–५, याङ्वेलदेखि वडा नं. ७ चापाखोरीसम्म दोस्रो खण्डको साढे छ किलोमिटर सडकमा नाली बनाउने, टेवा पर्खाल लगाउने र कालोपत्रे गर्ने जिम्मा पाएको थियो ।
समयमा नै काम नगर्दा वर्षायाम सुरु भएसँगै उक्त सडकखण्डमा साना तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा समस्या भएको छ । भ्याटसहित २० करोड आठ लाख ९५ हजार रुपियाँमा ठेक्का सम्झौता भएकोमा निर्माण व्यवसायीले हालसम्म तीन करोड ५६ लाख ८८ हजार रुपियाँ भुक्तानी लिएको र पछिल्लो पटक २२ लाख ५४ हजार ९९४ रुपियाँको बिल पेस गरेको छ । यस्तै वर्षायामका कारण जिल्लाको महाभारत, खानीखोला गाउँपालिका जोड्ने सडक अवरुद्ध भई यातायात सञ्चालनमा समस्या भएको छ ।