logo
२०८१ बैशाख ४ मंगलवार



राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई

राष्ट्रिय |
राजनीति |


राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई


काठमाडौं, माघ १० गते । यहीँ माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशका प्रदेश प्रहरी कार्यालयले आवश्यकता अनुसार प्रहरी परिचालन गर्न सक्ने नेपाल प्रहरी कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय सुरक्षा र योजना नबनाएको नेपाल प्रहरी कार्यालय नक्सालका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताउनुभयो ।
‘यही माघ १२ गते सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । उम्मेदवार भएका ठाउँहरुमा मतदाताको सङ्ख्या धेरै छैन,’ उहाँले भन्नुभयो, ‘त्यसकारण राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय सुरक्षा र योजना बनाएको हुँदैन । प्रदेशअन्तर्गत योजना बनाइएको छ ।’
सातै प्रदेशका प्रदेश प्रहरी कार्यालयले आवश्यकता अुनसार प्रहरी परिचालन गर्ने व्यवस्था गरिएको छ ।
राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।
यसैगरी, प्रदेश १ मा ३६४, मधेश प्रदेशमा ३७२, बागमती प्रदेशमा ३४६, गण्डकी प्रदेशमा २२९, कर्णाली प्रदेशमा १९१, लुम्बिी प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा २२७ गरी सातै प्रदेशमा कुल २०२५ मतदाता रहेका छन् ।
यता, आइतबार राति १२ बजेदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ ।
आयोगले मौन अवधि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने जनाएको छ । यसैगरी, आयोगले मौन अवधिभर एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वान प्रचार प्रसार गर्न नहुने जनाएको छ ।
मौन अवधिमा आयोगले उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ ।
साथै, निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन समेत दिएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् भने हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?