logo
२०८० चैत्र १६ शुक्रवार



सरस्वती मूर्ति बनाउन भ्याईनभ्याई

खुला |
समाज |


सरस्वती मूर्ति बनाउन भ्याईनभ्याई


जयकृष्ण यादव
इनरुवा, माघ ८ गते । सरस्वती पूजा नजिकिदै जाँदा रौतहटका मुर्तिकारहरुलाई यतिखेर मूर्ति बनाउन भ्याइ नभ्याई भएको छ । यस वर्षको सरस्वती पूजा यही माघ २३ गते आइतबारका दिन रहेको छ । सरस्वती पजा आउँन दुई सातामात्रै बाँकी रहेकोले मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन निकै व्यस्त भएको देखिएको छ । यहाँ मूर्तिकारहरु सरस्वतीका मूर्ति बनाउने माटोको काममा व्यस्त बनेका छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ सरस्वती पूजा अगाडि नै कलात्मक र आकर्षक मूर्ति निर्माण गर्ने ।

शिक्षक, विद्यार्थी र शैक्षिक संस्थालाई माटोबाट निर्माण गरिएको सरस्वतीको कलात्मक मूर्ति सहजरुपमा पु¥याउने उद्देश्यका साथ सदरमुकाम इनरुवाका मूर्तिकार विनोद यादव, सरोज यादव, लक्ष्मण मेहता, रामेश्वर मेहता, रन्जय यादवसहितका व्यस्त बनेका छन् । अरु बेला खासै काम नगर्ने मूर्तिकारहरु अहिले चिसोको बेवास्ता गर्दै दिनरात सरस्वती मूर्ति बनाउन व्यस्त बनेका छन् । उनीहरुलाई मूर्ति बनाउन भ्याईनभ्याई भएको छ ।

इनरुवासहित लौकही, हरिपुर, हरिनगर, चिमडीलगायतका स्थानमा रहेका मूर्तिकारहरु स्थानीय विद्यार्थी तथा शिक्षकको सरस्वती पूजालाई सहज बनाउने उद्देश्यले माटोका कलात्मक सरस्वतीका मूर्ति बनाउने कार्यमा व्यस्त बनेका इनरुवा नगरपालिका–४ का मूर्तिकार मनोज मेहताले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय, शैक्षिक प्रतिष्ठान र निजी विद्यालयका सञ्चालकले समेत सरस्वती मूर्तिको पूजा गर्ने भएकाले मूर्तिको माग अत्यधिक बढेपछि आफूहरु माटोका कलात्मक मूर्ति बनाउन व्यस्त बनेको मूर्तिकार मेहताले बताउनुभयो ।

एउटा मूर्ति बनाउन १५ सयदेखि तीन हजारसम्म लाग्ने र तीन हजारदेखि २० हजारसम्ममा एउटा मूर्ति बिक्री हुने गरेको मूर्तिकार विनोद यादव बताउनुहुन्छ । मूर्तिबाट मात्र एक सिजनमा ८० हजारदेखि दुई लाख ५० हजार रुपियाँसम्म आम्दनी गर्दै आएको मूर्तिकारको भनाइ छ ।

लगानी अनुसारको आम्दनी हुने र बजारको माग धान्नैपर्ने भएकाले मूर्तिकारहरुलाई अहिले माटाको मूर्ति बनाउन भ्याईनभ्याई छ । मूर्तिको अर्डर बढन थालेपछि ग्रामीण र सहरी क्षेत्रका दर्जनौ मूर्तिकारहरु अहिले माटाका सरस्वतीको मूर्ति बनाउन र अन्तिम रुप, आकार दिन व्यस्त भएका छन् । जिल्लामा २४ जनाभन्दा बढी मूर्तिकारले करिब एक करोड बराबरको सरस्वती मूर्ति निर्माण गरी बिक्री गर्दै आएको उनीहरुको अनुमान छ ।

इनरुवा ४ का लक्ष्मण मेहता र मनोज मेहताले अहिलेसम्म ६० वटा मूर्ति बनाइसकेका छन् । मेहताले काठ, बाँस, पराल, माटो र रंगको संयोजन गरेर मूर्ति बनाउनुहुन्छ । मेहताले भन्नुभयो, ‘अर्डर धेरै आएको छ तर, चिसोले गर्दा चाहे जति बनाउन सकिएको छैन ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?